विराटनगर। वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिने उपभोक्तालाई प्रोत्साहित गर्न सरकारले दैनिक र पाक्षिक नगद उपहार योजना ल्याएको छ। अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै बिल लिनेमध्येबाटै लखपति छानिने व्यवस्था गरेको हो।
यस योजनाअनुसार १०० रुपैयाँभन्दा बढीको सामान किनेर बिल लिने जोकोही उपभोक्ता सहभागी हुन सक्नेछन्। डिजिटल माध्यमबाट भुक्तानी गर्नेहरू प्रणालीमा स्वतः आबद्ध हुनेछन् भने नगद कारोबार गर्नेले आन्तरिक राजस्व विभागको मोबाइल एप वा वेब पोर्टलमा बिलको विवरण (बिल नम्बर, प्यान र रकम आदि) प्रविष्ट गर्नुपर्नेछ।
उपहार कार्यक्रमअन्तर्गत दैनिक एक जना भाग्यशाली विजेताले १ लाख ३३ हजार ३४ रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, महिनामा दुई पटक ‘बम्पर उपहार’को गोलाप्रथा हुनेछ, जसमा दुई जनाले जनही १० लाख रुपैयाँ जित्ने मौका पाउनेछन्। महिनाको १ देखि १५ गतेसम्म संकलन भएका बिलको नतिजा १६ गते र १६ गतेदेखि मसान्तसम्मको नतिजा अर्को महिनाको १ गते सार्वजनिक गरिनेछ।
विजेताको छनोट विभागको स्वचालित प्रणालीबाट हुनेछ। पुरस्कार प्राप्त गर्न विजेताले नतिजा प्रकाशन भएको १५ दिनभित्र सक्कल बिल र परिचयपत्रसहित राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ। उपहार रकममा २५ प्रतिशत कर कट्टी गरी बाँकी रकम सिधै विजेताको बैंक खातामा जम्मा गरिने कार्यविधिमा उल्लेख छ। व्यापारिक प्रयोजनका खरिद, हवाई टिकट र टेलिफोनका बिल भने यस योजनामा समावेश हुने छैनन्।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।