विराटनगर। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले कोशी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको प्रक्षेपण गरिएको हो।
आज दिउँसो कोशी प्रदेशका तराईका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ भने पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हाल कोशीको तराई क्षेत्रमा आंशिक बदली रहे पनि केही स्थानमा मध्यम वर्षा भइरहेको छ।
यसैगरी रातिको समयमा पनि कोशी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशीका हिमाली क्षेत्रमा समेत चट्याङ्गसहित वर्षाको सम्भावना देखिएको छ।
देशभरकै मौसमको अवस्था हेर्दा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। कोशीका अतिरिक्त बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि भारी वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा नदीमा जलस्तर बढ्न सक्ने जोखिम रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।