लोड हुँदैछ...

मेनु

विराटनगरका अस्पतालमा मौसमी बिरामीको चाप, भाइरल ज्वरो र पखालाका बिरामी बढे

विराटनगरका अस्पतालमा मौसमी बिरामीको चाप, भाइरल ज्वरो र पखालाका बिरामी बढे

विराटनगर । विराटनगरका स्वास्थ्य संस्थामा मौसमी बिरामीको चाप बढेको छ। अत्यधिक गर्मी र त्यसपछि हुने वर्षाका कारण भाइरल ज्वरो, रुघाखोकी तथा झाडापखालाका बिरामीको संख्या बढेको हो ।

विराटनगरका कोशी, नोबेल शिक्षण, विराट शिक्षण, विराट नर्सिङ होम, न्युरोलगायत अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा मौसमी संक्रमणका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ ।

स्वास्थ्यकर्मीका अनुसार अहिले अधिकांश बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, रुघाखोकी, घाँटी दुख्ने, बान्ता, कमजोरी र पखाला लाग्नेजस्ता लक्षण देखिएका छन्। बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीमा संक्रमणको असर तुलनात्मक रूपमा बढी देखिएको चिकित्सकहरूको भनाइ छ।

कोशी अस्पतालमा दैनिक करिब १ हजार ७ सयभन्दा बढी बिरामी ओपीडी सेवा लिन पुग्ने गरेका छन्। तीमध्ये करिब ४ सयदेखि ५ सय जनासम्ममा भाइरल ज्वरो, झाडापखाला तथा अन्य मौसमी संक्रमण देखिएको चिकित्सकहरूले बताएका छन्।

नोबेल शिक्षण अस्पतालमा पनि दैनिक ५ सयभन्दा बढी बिरामी भाइरल ज्वरो र मौसमी संक्रमणको उपचारका लागि पुग्ने गरेका छन्। बिरामीको चाप बढेसँगै अस्पतालका फिजिसियन तथा बालरोग विभागमा उल्लेख्य भीड देखिन थालेको छ।

मौसम परिवर्तनसँगै शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा भाइरल संक्रमण बढ्ने गर्छ। अहिले अस्पताल आउने अधिकांश बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, खोकी र कमजोरीका लक्षण देखिएका छन्, ।

यस्तो समस्यामा प्रशस्त झोलिलो पदार्थ सेवन गर्न, आराम गर्न र आवश्यक परे चिकित्सकको परामर्श लिन चिकित्सकले सुझाव दिएका छन् । अहिले बालबालिकामा भाइरल ज्वरो फैलिरहेको छ। विद्यालय जाने उमेरका बालबालिकामा संक्रमणको जोखिम बढी हुने भएकाले अभिभावकले विशेष सतर्कता अपनाउनुपर्ने अस्पतालले बताएका छन् ।

बच्चालाई लगातार उच्च ज्वरो आएमा, खान नखाएमा वा अत्यधिक कमजोर देखिएमा तत्काल स्वास्थ्य संस्थामा लैजानुपर्ने बाल रोग विषेशज्ञ डा. सुरेशकुमार साहको सुझाव छ। स्वास्थ्यकर्मीका अनुसार मौसमको उतारचढाव, दूषित पानीको प्रयोग, अस्वस्थ खानपान, खुला खानेकुरा, लामखुट्टेको वृद्धि तथा भिडभाड हुने स्थानमा संक्रमण सजिलै फैलिनु मौसमी बिरामी बढ्नुका प्रमुख कारण हुन्।

स्वास्थ्यकर्मीहरूले उमालेको वा शुद्ध पानी मात्र पिउन, बासी तथा खुला खानेकुरा नखान, नियमित रूपमा साबुनपानीले हात धुन, घर वरिपरि पानी जम्न नदिन तथा लामखुट्टेको टोकाइबाट बच्न सुझाव दिएका छन्। उनीहरूले झुलको प्रयोग गर्न र चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न पनि आग्रह गरेका छन्।

चिकित्सकहरूका अनुसार सामान्य भाइरल ज्वरो तीनदेखि पाँच दिनभित्र निको हुन सक्छ। तर, ज्वरो लामो समयसम्म नरोकिए, सास फेर्न गाह्रो भए, लगातार पखाला लागे, शरीरमा पानीको कमी देखिए वा बिरामीको अवस्था जटिल बन्दै गएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।