लोड हुँदैछ...

मेनु

कोशी सरकारबारे मुख्यमन्त्री कार्की : ‘अहिल्यै अत्तालिनुपर्ने अवस्था छैन’

कोशी सरकारबारे मुख्यमन्त्री कार्की : ‘अहिल्यै अत्तालिनुपर्ने अवस्था छैन’

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने चर्चासँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि मुख खोलेका छन् ।

सुदूरपश्चिम र कर्णालीबाट सुरु भएको सत्ता समीकरणको फेरबदल कोशीसम्म आइपुग्ने संकेत देखिएपछि सरकारको भविष्यबारे चासो बढेको बेला मुख्यमन्त्री कार्कीले अनलार्ईनखबरलाई दिएको अन्तरवार्तामा आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गरेका हुन् ।

अहिलेसम्म कांग्रेसबाट कुनै आधिकारिक जानकारी वा पत्र प्राप्त नभएकाले सरकार संकटमा परेको निष्कर्षमा पुग्न हतार हुने कार्कीको भनाइ छ । ‘जबसम्म मन्त्रीहरू फिर्ता बोलाइएको वा समर्थन फिर्ता लिइएको आधिकारिक जानकारी आउँदैन, तबसम्म यस विषयमा धेरै टिप्पणी गर्नु उचित हुँदैन,’ उनले भने, ‘कांग्रेसका नेताहरूका सार्वजनिक अभिव्यक्ति सुनेका छौँ, तर औपचारिक निर्णयपछि मात्रै आवश्यक कदम चालिन्छ।’

मुख्यमन्त्री कार्कीले सुदूरपश्चिमबाट सुरु भएको राजनीतिक अस्थिरता कर्णाली हुँदै कोशीसम्म फैलिन खोजेको उल्लेख गर्दै यसले संघीय व्यवस्थामाथि नै प्रश्न उठाउन सक्ने चेतावनी दिए। उनले प्रदेश सरकारहरूमा बारम्बार हुने सत्ता परिवर्तन र बजेट अवरुद्ध गर्ने प्रवृत्तिले सुशासन र राजनीतिक स्थिरतामा नकारात्मक असर पार्ने बताए।

‘छ–छ महिनामा मुख्यमन्त्री र मन्त्री फेरिने परिपाटीले जनतामा राजनीतिक प्रणालीप्रति वितृष्णा बढाउँछ। यस्तो अभ्यासलाई सबै दलले गम्भीर रूपमा लिनुपर्छ,’ उनले भने। आलोपालो नेतृत्वको विषय एमाले र कांग्रेसबीचको केन्द्रीय तहको समझदारीसँग जोडिएको उल्लेख गर्दै कार्कीले पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने बताए। उनका अनुसार कुनै पनि नयाँ निर्णयअघि दुवै दलबीच स्पष्ट सहमति आवश्यक छ।

मुख्यमन्त्री कार्कीले एउटा प्रदेशको राजनीतिक विवादलाई सबै प्रदेशमा विस्तार गर्नु उचित नहुने धारणा राखे। ‘सुदूरपश्चिमको समस्या त्यहीँ समाधान गरौँ, कर्णालीको त्यहीँ। सबै प्रदेशलाई एउटै राजनीतिक संकटमा धकेल्नु बुद्धिमानी हुँदैन,’ उनले भने।

बागमती, मधेश र गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार रहेकाले अन्य प्रदेशमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको कार्कीले बताएका छन् । हाल कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्कीको नेतृत्वमा कांग्रेससहितको गठबन्धन सरकार सञ्चालनमा छ।

केन्द्रमा विकसित राजनीतिक समीकरण र प्रदेशस्तरमा बढ्दो असन्तुष्टिका कारण आगामी दिनमा कोशी सरकारको भविष्य कस्तो हुन्छ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।