मेचीनगर । झापाका स्थानीय तहमध्ये सबैभन्दा बढी रकमको बेरुजु देखिएको मेचीनगर नगरपालिकाले बेरुजु फछ्र्योटका लागि सम्बन्धित व्यक्ति, संस्था तथा निर्माण व्यवसायीलाई ३५ दिनभित्र रकम दाखिला गर्न वा प्रमाणसहित फछ्र्योट गर्न निर्देशन दिएको छ।
तोकिएको समयभित्र बेरुजु फछ्र्योट नगरे सरकारी बाँकीसरह जायजेथाबाट रकम असुल गरिने नगरपालिकाले चेतावनी दिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाको बेरुजु लगतमा नाम उल्लेख भएका व्यक्ति, संघ–संस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा अन्य सरोकारवालालाई ३५ दिनभित्र आर्थिक प्रशासन शाखा वा आन्तरिक लेखा परीक्षण शाखामा उपस्थित भएर बेरुजु रकम दाखिला गर्न वा फछ्र्योटसम्बन्धी प्रमाण पेस गर्न आग्रह गरेका छन्।
सूचनाअनुसार नियमित प्रक्रियाबाट फछ्र्योट हुन नसकेका बेरुजु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४७ र ४८ बमोजिम सरकारी बाँकीका रूपमा कायम हुनेछ। त्यसपछि सम्बन्धित व्यक्ति वा संस्थाको जायजेथाबाट सरकारी प्रक्रियाअनुसार रकम असुल गरिने नगरपालिकाले जनाएको छ।
महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार मेचीनगर नगरपालिकामा १४ करोड ९९ लाख ५५ हजार रुपैयाँ बेरुजु कायम भएको छ, जुन परीक्षण गरिएको रकमको ३.१९ प्रतिशत हो। रकमका आधारमा यो झापाका सबै स्थानीय तहमध्ये सबैभन्दा ठूलो बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ।
यद्यपि प्रतिशतका आधारमा भने झापामा सबैभन्दा बढी बेरुजु बिर्तामोड नगरपालिकामा देखिएको छ। प्रतिवेदनअनुसार बिर्तामोडमा परीक्षण गरिएको ३ अर्ब ३४ करोड ६० हजार रुपैयाँमध्ये ३.२२ प्रतिशत अर्थात् १० करोड ७४ लाख २३ हजार रुपैयाँ बेरुजु कायम भएको छ।
नगरपालिकाले सम्बन्धित सबै पक्षलाई समयमै बेरुजु फछ्र्योट गरी कानुनी कारबाहीबाट जोगिन आग्रह गरेको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।