लोड हुँदैछ...

मेनु

कोशी प्रदेशसभाको आगामी बैठक नयाँ भवनमा बस्ने तयारी

कोशी प्रदेशसभाको आगामी बैठक नयाँ भवनमा बस्ने तयारी

विराटनगर । कोशी प्रदेशसभाको चालू बजेट अधिवेशनका आगामी बैठकहरू नयाँ निर्माण गरिएको प्रदेशसभा भवनमा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रदेशसभाका सचिव सुदर्शन खड्काले भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेकाले अब बस्ने बैठक नयाँ हलमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन् ।

सचिव खड्काका अनुसार नयाँ भवनमा कम्तीमा एक–दुई वटा बैठक बसेर मात्रै चालू बजेट अधिवेशन अन्त्य गर्ने लक्ष्य राखिएको छ । आगामी भदौ ७ गते बैठक बस्ने गरी प्रारम्भिक तयारी भइरहेको भए पनि सरकार फेरबदल र राजनीतिक परिस्थितिका कारण समयतालिकामा केही फेरबदल हुन सक्ने सम्भावना छ । ७ गते सम्भव नभए ११ गतेसम्ममा बैठक बस्न सक्ने उनले बताए ।

प्रदेश नामकरणको विषयलाई लिएर भएको आन्दोलनका क्रममा प्रदेशसभाको पुरानो भवनमा आगजनी र क्षति पुगेपछि विगत लामो समयदेखि प्रदेशसभाका बैठकहरू विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन हुँदै आएका थिए । सभागृहमा बैठक सञ्चालन गर्दा प्राविधिक र व्यवस्थापकीय कठिनाइ झेल्दै आएको सचिवालयले अब आफ्नै संरचनाबाट कार्यसम्पादन गर्ने तयारी गरेको हो ।

प्रदेश सभा सचिवालय हाल मोरङको कटहरीमा रहेको छ । कटहरीस्थित तरकारी बजारका लागि निर्माण गरिएको संरचनालाई मर्मत, सुधार र स्तरोन्नति गरेर प्रदेशसभा हलका रूपमा सञ्चालन गर्न लागिएको हो । आफ्नै मर्मत गरिएको भवनमा बैठक सर्ने भएपछि प्रदेशसभाको कामकारबाही थप व्यवस्थित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।