लोड हुँदैछ...

मेनु

स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ, घटना ‘गुपचुप’ राख्दै मोरङ प्रहरी

स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ, घटना ‘गुपचुप’ राख्दै मोरङ प्रहरी

विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ठुलो परिमाणको नगद सहित एक सरकारी कार्यालयका प्रमुख पक्राउ परेको घटनालाई मोरङ प्रहरीले गुपचुप राखेको पाइएको छ ।

साउन ३ गते भएको उक्त घटनामा पक्राउ परेका कर्मचारीलाई सार्वजनिक नगरी प्रहरीले सूचना लुकाउन खोजेपछि सुरक्षा निकायको भूमिकामाथि नै प्रश्न उठेको छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङलाई ६ लाख ६५ हजार रुपैयाँ नगद सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौँ जाने तयारीमा थिए ।

विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा तामाङले बोकेको कालो रङको झोलाभित्र लुकाइराखेको अवस्थामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान गरी जम्मा ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो । उक्त रकमको वैधानिक स्रोतबारे सोधपुछ गर्दा उनले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरी सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिएको थियो ।

विमानस्थलमा खटिएका प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र तिम्सिनाले तामाङलाई बरामद रकमसहित थप अनुसन्धानका लागि सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएका थिए । सामान्यतया प्रहरीले स्रोत नखुलेको थोरै रकम बरामद गर्दा समेत तत्कालै प्रेस विज्ञप्ति जारी गर्ने वा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रचलन छ । तर, उपसचिव तहकै कर्मचारी पक्राउ परेको यति ठुलो घटनालाई भने मोरङ प्रहरीले हालसम्म गुपचुप राखेको छ ।

यस विषयमा जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले घटनाको अनुसन्धान भइरहेको स्वीकार गरे । ‘हामीले नियन्त्रणमा लिएको व्यक्तिले सम्पत्तिको स्रोत देखाउन सक्नुभएको छैन,’ एसपी कटुवालले भने, ‘सम्भवतः आज जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी छ ।’

यसरी गम्भीर प्रकृतिको घटनालाई प्रहरीले सार्वजनिक नगर्नुमा माथिल्लो तहको दबाब रहेको हुनसक्ने आशंका गरिएको छ । स्रोतका अनुसार, आर्थिक वर्षको अन्त्य भइ चालु आर्थिक वर्षको सुरुवातमा हुने भुक्तानी र विभिन्न योजनाहरूबाट संकलन गरिएको ुकमिसनको रकम लिएर उनी काठमाडौँ जान लागेका थिए ।

असार मसान्तको सेटिङको पैसा बोकेर शक्ति केन्द्र फकाउन काठमाडौँ हिँडेका कर्मचारीलाई जोगाउन राजनीतिक र प्रशासनिक तहबाटै दबाब आएको स्रोतको दाबी छ । सरकारी पदमा बहाल रहेका जिम्मेवार व्यक्तिले यति ठुलो नगद बिनाकुनै कागजात बोकेर हिँड्नुले सिधै भ्रष्टाचारको संकेत गर्छ । यस्तो अवस्थामा प्रहरीले अभियुक्तलाई सार्वजनिक गरी कारबाहीको दायरामा ल्याउनुको सट्टा गोप्य राख्नुले प्रहरीको कार्यसम्पादनमाथि समेत संशय उब्जिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।