विराटनगर । दुई महिनाका बालकले लगाएको डायपरभित्र ब्राउन सुगर लुकाएर भारतबाट नेपाल भित्र्याउन खोजेको आरोपमा प्रहरीले चार जनालाई भद्रपुरबाट पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बिहीबार साँझ भद्रपुर–५ स्थित बसपार्क क्षेत्रमा नियमित जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटो रोकेको थियो।
शंका लागेर अटोमा सवार यात्रुहरूको तलासी लिने क्रममा दुई महिनाका बालकले लगाएको डायपरभित्र प्लास्टिकमा बेरेर लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा अटो चालक भारतको किशनगञ्ज घर भई हाल बिर्तामोड–५ बस्दै आएका ३० वर्षीय मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन र उनीहरूसँगै यात्रा गरिरहेका ३८ वर्षीय मोहम्मद तजरुल रहेका छन्। उनीहरूसँग दुई महिनाका बालक सोहेल आलमसमेत थिए।
प्रहरीका अनुसार बरामद ब्राउन सुगरको तौल प्लास्टिकसहित ९ ग्राम ८५ मिलिग्राम र प्लास्टिक हटाएपछि ८ ग्राम ९४ मिलिग्राम रहेको छ।
घटनामा प्रयोग भएको अटोसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीन वयस्कलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।