लोड हुँदैछ...

मेनु

कोशी प्रदेशको कूल आय अघिल्लो वर्षको भन्दा ३ अर्ब २८ करोडले घट्यो

कोशी प्रदेशको कूल आय अघिल्लो वर्षको भन्दा ३ अर्ब २८ करोडले घट्यो

विराटनगर । कोशी प्रदेश सरकारको कूल आय ६ वर्ष यताकै कम भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारको कुल आय ३० अर्ब ३८ करोड ४७ लाख ३२ हजार ४ सय ३९ रुपैयाँ भएको छ ।

जुन विवरण आर्थिक वर्ष २०७६/७७ यताको सबैभन्दा कम हो । आर्थिक वर्ष २०७५/७६ मा प्रदेशको कूल आय २८ अर्ब २३ करोड भएको थियो । त्यसपछिका वर्षहरूमा कोशी प्रदेशमा ३१ अर्ब भन्दा माथि कूल आय थियो ।

तथ्याङ्क अनुसार प्रदेशको कूल आय २०७७/७८ मा ३२ अर्ब ५ करोड, आर्थिक वर्ष २०७८/७९ मा ३७ अर्ब १४ करोड, २०७९/८० मा ३५ अर्ब ९६ करोड, २०८०/८१ मा ३२ अर्ब २५ करोड र २०८१/८२ मा ३३ अर्ब ६६ करोड रुपैयाँ भएको थियो । गत आर्थिक वर्ष २०८२/८३ मा भएको कूल आय ३० अर्ब ३८ करोड भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब २८ करोडले कम हो ।

यस्तै प्रदेश सरकारको असार मसान्तसम्मको विवरण अनुसार कुल प्राप्त आयमध्ये प्रदेशको आफ्नै आन्तरिक राजस्व ४ अर्ब ७० करोड ८४ लाख ४४ हजार ९ सय ११ रुपैयाँ रहेको छ । आन्तरिक राजस्व पनि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ८९ करोड भएको थियो । गत वर्षमा आन्तरिक राजस्व अघिल्लो वर्षको भन्दा १९ करोडले कम आएको छ ।

यसैबीच कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा २६ अर्ब २५ करोड २५ लाख ४८ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षका लागि ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँ बजेट कायम गरेको थियो । कुल आय ३० अर्ब ३८ करोड ४७ लाख ३२ हजार ४ सय ३९ रुपैयाँ र खर्च सो बराबरको रकम हुँदा प्रदेशको सञ्चित खातामा ४ अर्ब १३ करोड २१ लाख भन्दा बढी रकम बचत भएको छ ।

६ वर्षको खर्च तथ्याङ्क

तथ्याङ्क अनुसार कोशी प्रदेश सरकारले इतिहासकै पहिलो बजेट २०७४ साल चैत २९ गते १ अर्ब २ करोड ५ लाख रुपैयाँको प्रस्तुत गरेको थियो । उक्त बजेट प्रशासनिक खर्चको लागि मात्रै ल्याइएको थियो । त्यसपछिका पूर्ण बजेटमा आर्थिक वर्ष २०७५/७६ मा ३५ अर्ब ९४ करोड रुपैयाँ भएकोमा खर्च केवल २१ अर्ब ३० करोड रुपैयाँ मात्र भयो ।

आर्थिक वर्ष २०७६/७७ मा कोशी प्रदेशको इतिहासकै सबैभन्दा ठूलो बजेट ४२ अर्ब २० करोड रुपैयाँ विनियोजन गरियो । तर यथार्थ खर्च २९ अर्ब ८४ करोड रुपैयाँमा सीमित भयो । आर्थिक वर्ष २०७७/७८ मा ४० अर्ब ९० करोड रुपैयाँको बजेट बनेकोमा खर्च २७ अर्ब ९६ करोड रुपैयाँ मात्र भयो । आर्थिक वर्ष २०७८/७९ बजेट आकार घटाएर ३२ अर्ब ७४ करोड रुपैयाँमा झारियो, जसमध्ये २९ अर्ब ९७ करोड रुपैयाँ खर्च भयो ।

आर्थिक वर्ष २०७९/८० मा पुनः बजेट बढाएर ३९ अर्ब ७४ करोड रुपैयाँ पु¥याइयो । यथार्थ खर्च ३० अर्ब ७६ करोड रुपैयाँ (७७.०३ प्रतिशत) भयो । आर्थिक वर्ष २०८०/८१ मा बजेट आकार घटाएर ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ ल्याइयो । जसमध्ये २८ अर्ब ३ करोड रुपैयाँ (७६.१२ प्रतिशत) मात्र खर्च हुन सक्यो ।

आर्थिक वर्ष २०८१/८२ मा बजेट थप संकुचित बनाउँदै ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको ल्याइयो । जसको कुल खर्च २८ अर्ब १८ करोड रुपैयाँ (८०.२३ प्रतिशत) भयो । प्रतिशत बढेको देखिए पनि खर्चको वास्तविक परिमाण भने घट्यो । चालू आर्थिक वर्ष २०८२/८३ मा भने बजेट खर्च जम्मा २६ अर्ब २५ करोड २५ लाख ४८ हजार रुपैयाँ गरेको हो । बजेट भने ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँ कायम थियो ।

लगातार घट्दो विकास खर्च

कोशी प्रदेशमा कुल बजेट खर्चसँगै पूँजीगत खर्च पनि घट्दै गएको छ । विगत तीन वर्षको पूँजीगत खर्चको तथ्याङ्क हेर्दा पनि आर्थिक वर्ष २०७९/८० मा १८ अर्ब ११ करोड २५ लाख २८ हजार रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा यो रकम घटेर १६ अर्ब ३४ करोड २८ लाख ९८ हजार रुपैयाँमा आइपुग्यो । आर्थिक वर्ष २०८१/८२ मा विकास खर्च अझै घट्दै केवल १३ अर्ब ८२ करोड ६१ लाख रुपैयाँमा सीमित भयो । चालू आर्थिक वर्षको अन्त्यसम्ममा पुँजीगततर्फ जम्मा १२ अर्ब ३८ करोड ५८ लाख ८३ हजार ७२० रुपैयाँ खर्च भएको छ । बजेट विनियोजन भने कुल १७ अर्ब १४ करोड ६२ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।