लोड हुँदैछ...

मेनु

विराटनगर महानगरमा कर्मचारी सरुवा विवाद, ५ वडाले हाजिर गराउन मानेनन्

विराटनगर महानगरमा कर्मचारी सरुवा विवाद, ५ वडाले हाजिर गराउन मानेनन्

विराटनगर । विराटनगर महानगरपालिकाले गरेको वडागत कर्मचारी सरुवाको निर्णय विवादमा परेको छ । महानगरले साउन १ गतेदेखि लागू हुने गरी नयाँ कार्यस्थलमा खटाएका राजस्व कर्मचारीहरूलाई ५ वटा वडा कार्यालयले हाजिर गराउन अस्वीकार गर्दै फिर्ता पठाएका हुन् ।

लामो समयदेखि एउटै वडामा कार्यरत कर्मचारीहरूलाई जिम्मेवारी फेरबदल गर्ने महानगरको नीतिअनुसार राजस्व असुलीमा संलग्न कर्मचारीहरूको सरुवा गरिएको थियो । तर, महानगरका १९ वडामध्ये वडा नम्बर ३, ४, ६, १७ र १८ ले नयाँ कर्मचारीलाई स्वीकार नगरी फिर्ता पठाएका छन् ।

महानगरपालिकाका सूचना अधिकारी अर्जुन थपलियाका अनुसार सबै वडाका राजस्व कर्मचारीको कार्यस्थल परिवर्तन गरी सम्बन्धित वडामा पठाइए पनि ५ वटा वडाबाट उनीहरू फिर्ता भएका हुन् ।
‘हामीले नियमअनुसार नै कर्मचारी फेरबदल गरेर पठाएका हौँ, तर केही वडामा हाजिर हुन नदिइएको जानकारी आएको छ,’ थपलियाले भने ।

यता, वडा नम्बर ४ का अध्यक्ष जितन थापाले कर्मचारी सरुवा र छनोट प्रक्रियाबारे महानगरले वडा कार्यालयसँग पूर्वसमन्वय नगरेको गुनासो गरे । ‘गोला प्रथाबाट कर्मचारी छनोट गरी वडामा पठाइएको भन्ने सुनेका छौँ,’ उनले भने, ‘कर्मचारी जो आए पनि काम गर्न समस्या होइन, तर व्यवस्थापनजस्तो संवेदनशील विषयमा वडासँग सल्लाह र समन्वय हुनुपर्थ्यो ।’ उनले प्रमुख प्रशासकीय अधिकृत बिदाबाट फर्किएपछि यसबारे छलफल हुने बताए ।

महानगरको प्रशासनिक निर्णयलाई वडा तहले कार्यान्वयन नगर्दा केन्द्र र वडाबीच समन्वयको अभाव देखिएको छ । यसले गर्दा राजस्व संकलनजस्तो महत्त्वपूर्ण कार्य प्रभावित हुन सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत हाल बिदामा रहेकाले उनी फर्किएपछि मात्रै यो विवाद सुल्झिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds