धरान । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले विजयपुरको इतिहाससँग जोडिएका विवादलाई गालीगलौज र आरोप–प्रत्यारोपमा सीमित नगरी तथ्य र तर्कमा आधारित बहसका रूपमा अघि बढाउन आग्रह गरेका छन्।
मदनकुमार चोङवाङद्वारा लिखित ‘नेपालको राजनीतिमा लिम्बुहरूको सहभागिता’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खापुङले इतिहास, धर्म, भाषा, लिपि र संस्कृतिसँग जोडिएका विषयमा तथ्यमा आधारित संवाद आवश्यक रहेको बताए।
उनले शक्ति र नियन्त्रण चाहने समूहहरूले समय र परिस्थिति अनुसार धार्मिक सम्प्रदायबीचको सद्भाव र एकता बिथोल्न खोज्ने गरेको भन्दै त्यस्ता गतिविधिबाट सचेत रहनुपर्नेमा जोड दिए।
‘इतिहास र तथ्यमा आधारित विषयवस्तुमा औपचारिक वा अनौपचारिक संवादमार्फत मतभेद समाधान गर्नुपर्छ,’ उनले भने, ‘यसले सामाजिक सद्भाव र आपसी मित्रता कायम राख्न सहयोग गर्छ।’
प्रदेश प्रमुख खापुङले कोशी प्रदेशको नामकरणबारे उठ्ने विवादमा प्रदेश प्रमुखको कुनै प्रत्यक्ष भूमिका नरहेको स्पष्ट पारे। प्रदेशको नाम संविधानअनुसार प्रदेश सभाबाट भएको निर्णयका आधारमा कायम भएको भन्दै उनले आफूले संवैधानिक प्रक्रियाअनुसार प्रमाणीकरण गर्ने जिम्मेवारी मात्र निर्वाह गरेको बताए।
कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले नगरभित्रका विभिन्न विषयमा समन्वय, व्यवस्थापन र छलफलका लागि नगर प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए।
‘समितिबाट हुने निर्णय र कार्यहरू नगर सरकारकै स्वामित्वमा रहनेछन्,’ उनले भने।
बेघाले इतिहास, धर्म, भाषा, लिपि र संस्कृतिसँग सम्बन्धित विषयमा छलफल गर्दा कुनै समुदाय वा धर्मप्रति आक्षेप नलगाई आपसी सम्मान र सद्भाव कायम राख्नुपर्ने बताए।
‘कुनै पनि विषयमा सतही टिप्पणीभन्दा तथ्य र तर्कमा आधारित बहस गर्दै भाषा, लिपि र संस्कृतिको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्छ,’ उनले भने।
पुस्तक विमोचन कार्यक्रममा संस्कृति अध्येता अमित थेबेलगायतले पुस्तकबारे परिचर्चा गरेका थिए। पूर्वप्रदेश प्रमुख प्राडा. गोविन्द तुम्बाहाम्फेले पुस्तक पूर्वलिम्बुवान क्षेत्रको राजनीतिक इतिहासको महत्वपूर्ण दस्ताबेज भएको बताए।
कार्यक्रममा उज्यालो नेपालका केन्द्रीय सदस्य जेन्टल लावती, समाजवादीका केन्द्रीय सदस्य ताजुब लिम्बु, नेपाली कम्युनिस्ट पार्टीका मुक्साहाङ मेन्याङबो, नेकपा एमाले धरानका अध्यक्ष हर्क एभेङलगायतले लिम्बुवानको राजनीतिक इतिहासबारे धारणा राखेका थिए।
हुक्पाचोङबाङ कल्याण संघद्वारा आयोजित कार्यक्रमको सभापतित्व संघका केन्द्रीय अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले गरेका थिए।
४०० पृष्ठको पुस्तक हङकङ निवासी शम्सेर तुम्बाहाङफेले प्रकाशन गरेका हुन्। पुस्तकको मूल्य ५९९ रुपैयाँ राखिएको छ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।