लोड हुँदैछ...

मेनु

मोरङसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह

मोरङसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह

विराटनगर । बाढी पूर्वानुमान महाशाखाले आज आइतबार मोरङसहित देशका ३५ जिल्लामा बाढीको सम्भावना रहेको जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।

महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र मोरङसहित ३५ जिल्ला भएर बहने खोला तथा नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने जोखिम देखिएको हो।

महाशाखाले जारी गरेको सूचना अनुसार आज मोरङ, झापा, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर र चितवन जिल्लाका ससाना नदीहरूमा बहाब बढ्नेछ।

त्यसैगरी कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर जिल्ला तथा आसपास भएर बहने नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
‘यी जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,महाशाखाद्वारा जारी सूचनामा भनिएको छ।

वर्षाका कारण खोलाको सतह अचानक बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र र डुबान भइरहने स्थानका सर्वसाधारणलाई विशेष सावधानी अपनाउन प्रहरी र स्थानीय प्रशासनले पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।