लोड हुँदैछ...

मेनु

एभरेष्टका नयाँ विद्यार्थीलाई स्वागत: ‘विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ’

एभरेष्टका नयाँ विद्यार्थीलाई स्वागत: ‘विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ’

विराटनगर ।  विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ। विराटनगरको गोग्राहा चोकस्थित कन्चनजङ्घा बैंक्वेटमा आयोजित समारोहमा कक्षा १२ का विद्यार्थीले विभिन्न कार्यक्रम गर्दै नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले विद्यार्थीको आफ्नै मेहनतले सफलता प्राप्त हुने बताए। विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण बनाइदिने मात्र उल्लेख गर्दै उनले त्यहाँबाट कति ज्ञान लिने भन्ने कुरा विद्यार्थीमा भर पर्ने स्पष्ट पारे। “तिर्खाएको व्यक्तिलाई कुवासम्म लगिदिने हो, कति पानी खाने वा नखाने उसैमा निर्भर हुन्छ,” थपलियाले भने, “आफूलाई कस्तो बनाउने भन्ने निर्णय विद्यार्थीले नै गर्नुपर्छ।” एभरेष्टले उत्कृष्ट शैक्षिक वातावरण बनाएको भन्दै उनले विद्यार्थीलाई त्यसको अधिकतम सदुपयोग गर्न सुझाव दिए। पछिल्लो समय सामाजिक सञ्जाल र अल्गोरिदमले युवापुस्तालाई अल्मलाइरहेको चर्चा गर्दै उनले क्षणिक लोकप्रियताको पछि नलागी दीर्घकालीन रूपमा लोकप्रिय बन्न आग्रह गरे।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीको शैक्षिक तथा सर्वाङ्गिण विकासका लागि प्रशासनिक वा व्यवस्थापकीय दृष्टिकोणबाट कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए। हाम्रा विद्यार्थी पनि सोही अनुसार अब्बल हुने उनले आशा व्यक्त गरे। विगतका नतिजाले एभरेष्टका विद्यार्थी अब्बल रहेको पुष्टि गरिसकेको भन्दै अहिलेका विद्यार्थीले पनि त्यसलाई प्रमाणित गर्ने विश्वास उनले व्यक्त गरे।

प्रिन्सिपल पुरीले अहिले कुनै एक विद्यालय, सहर वा देशका विद्यार्थीबीच मात्र नभई विश्वभरका विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने युग रहेको बताए। “हामीले हाम्रा विद्यार्थीले विश्वसँग प्रतिस्पर्धा गर्नुपर्छ भनेर नै सोही अनुसारको वातावरण बनाएका छौँ,” उनले भने, “डिजी स्कुल, एआईको अध्यापन तथा अन्तर्राष्ट्रिय प्ल्याटफर्मको सहभागिता त्यसकै उदाहरण हुन्।” उनले सूचना प्रविधि र एआईको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै शैक्षिक ज्ञान मात्र पर्याप्त नहुने बताए। सम्बन्धित विषयका अतिरिक्त कुराहरू सिक्न र सिकेका कुरालाई व्यवहारमा उतार्न आवश्यक रहेको उनको भनाइ थियो।

स्वागत समारोहमा विद्यार्थीले विभिन्न गीत, नृत्य र वाद्यवादन प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए। कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, विभागीय प्रमुख तथा शिक्षक कर्मचारीहरूको उपस्थिति थियो।

सोही अवसरमा विद्यालयको प्रशासन क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि कार्यरत कर्मचारी कृष्णकुमार ठाकुरलाई सम्मान समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।