विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकारको गैरजिम्मेवारीपनका कारण संसद र सामाजिक सञ्जाल फेसबुक बीचको अन्तर हराउँदै गएको टिप्पणी गरेका छन् । विराटनगरमा आयोजित पार्टीको महानगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साम्पाङले सदनमा उठाइएका गम्भीर राष्ट्रिय मुद्दाहरूमा सरकार लाचार र अनुत्तरदायी बनेको आरोप लगाएका हुन् ।
सम्बोधनका क्रममा उनले संसदको गरिमा र प्रभावकारितामाथि प्रश्न उठाउँदै भने, ‘संसदमा हामी बोलिरहेका छौँ तर त्यो संसद पनि अहिले कस्तो भएको छ भने बोल्ने ठाउँ मात्रै भएको छ । फेसबुक र संसद एउटै लाग्न थाल्यो अहिले । फेसबुकमा पनि बोल्छु, बोलेर केही हुँदैन । संसदमा पनि बोल्छु, बोलेर केही हुँदैन । किन हुँदैन भन्दाखेरि जब जवाफदेही बन्दैन सरकार तब केही पनि हुँदैन रहेछ ।’
सांसद साम्पाङले प्रधानमन्त्रीको कार्यशैली र सदनप्रतिको उदासिनतामाथि कडा प्रहार गरे । प्रधानमन्त्री आफैँ संसदमा नआउने गरेको र आए पनि अत्यन्तै कम समय मात्र बस्ने गरेको उनले बताए । नेपाल–भारत सीमा विवाद जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले हलुका टिप्पणी गरेको उनको आरोप छ । ‘नेपालले भारतको सिमाना धेरै ठाउँमा मिचेको छ भनेर थाहा पाएको छु भन्नुहुन्छ प्रधानमन्त्रीज्यू, अनि कहाँ मिचेको छ त भन्दा उहाँ आउनुहुन्न,’ साम्पाङले भने, ‘डेढ महिना कराएको–धेरै कराएपछि पछि २० मिनेट जति यसो आएर बस्नुहुन्छ फेरि गइहाल्नुहुन्छ । त्यो खालको तरिकाले सरकार चलिराखेको छ ।’
देशको आर्थिक अवस्था र विभिन्न क्षेत्रका समस्याप्रति सरकार बेखबर रहेको उनले उल्लेख गरे । उद्योगपति, व्यापारी, व्यवसायी, निर्माण व्यवसायी, किसान र मजदुरका समस्याबारे संसदमा निरन्तर प्रश्न उठाउँदा पनि सरकारले चित्तबुझ्दो उत्तर नदिएको उनको गुनासो छ । साउन १ गतेदेखि महँगी अत्यधिक बढेको भन्दै उनले शिक्षा, स्वास्थ्य र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम उपभोक्ता मारमा परेको बताए । उनले भने, ‘आम उपभोक्ताको हितमा सरकारले ट्याक्ससँग सम्बन्धित नीतिहरू बनाएको छैन । हामीले बारम्बार खबरदारी गरिरहेका छौँ, सल्लाह दिइराखेका छौँ । केही नीति संशोधन गरे जस्तो गरे पनि धेरैजसो नीतिमा चाहिँ बहुमतको दम्भ देखाइन्छ ।’
सरकारप्रति लक्षित गर्दै उनले कामभन्दा नाम परिवर्तनमा मात्र सरकार अल्झिएको टिप्पणी गरे । उनले भने, ‘रास्वपाले झण्डै दुई तिहाईको बहुमत ल्याएको छ, बधाई छ । तर आशातीत काम भइराखेको छैन । कानुन संशोधन गर्नुको साटो मन्त्रालयको नाम परिवर्तन गर्दै बसिराख्नुभएको छ । भौतिक विकास पूर्वाधार मन्त्रालयलाई पूर्वाधार विकास मन्त्रालय बनाउँदैमा वा बसको कलर परिवर्तन गर्दैमा जनताको जीवनमा तात्विक परिवर्तन आउँदैन ।’
सांसद साम्पाङले देशको बढ्दो वैदेशिक ऋण र उत्पादनहीनताप्रति चिन्ता व्यक्त गरे । ‘हामी विदेशी ऋण लिएर प्रत्येक साल सरकारी कामकाज चलाइरहेका छौँ । ८० प्रतिशत मान्छे काम नगरी गफ मात्र गरेर आफूलाई विद्वान सम्झन्छन्,’ उनले भने । आफ्नो पार्टीको ‘श्रम संस्कृति’ को अवधारणा स्पष्ट पार्दै उनले अरुको रोटी खोसेर खानु राजनीति नभएको तर्क गरे । उनले भने, ‘हाम्रो सिद्धान्तले प्रशस्त उत्पादन गर्नुपर्छ र भोकालाई पनि खुवाउनुपर्छ भन्छ । आफू मात्रै खाएर पेट ठूलो बनाउने र अरु चाहिँ झिङ्ग्रिङ हुने प्रवृत्तिको हामी विरोधी हौँ ।’
श्रमलाई सबैभन्दा ठूलो शक्ति मान्ने आफ्नो पार्टीको मान्यता रहेको भन्दै उनले कुनै पनि काम सानो नहुने बताए ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।