विर्तामोड । डिजिटल प्रविधिको विस्तारसँगै झापामा बैंकिङ कसुर, ठगी र अनलाइन सट्टेबाजीजस्ता वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा वित्तीय अपराधसम्बन्धी ३७३ वटा मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये २७० वटा फर्छ्योट भएका छन् भने १०३ वटा अनुसन्धानकै क्रममा छन्। ती घटनामा संलग्न १५५ जना पक्राउ परेका छन् भने ३१० जना अझै फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवालका अनुसार सबैभन्दा धेरै बैंकिङ कसुरका २९४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २२० वटा फर्छ्योट भएका छन् भने ७४ वटा मुद्दा विचाराधीन छन्। यस प्रकरणमा ९९ जना पक्राउ परेका छन्।
यस्तै, ठगीका ६५ वटा मुद्दा दर्ता हुँदा ४० वटा फर्छ्योट भएका छन् भने २५ वटा बाँकी छन्। ठगीका घटनामा ३९ जना पक्राउ परेका छन्। आपराधिक लाभसम्बन्धी १२ वटा मुद्दामध्ये ८ वटा फर्छ्योट भइसकेका छन् भने ४ वटा अनुसन्धानकै क्रममा छन्। यसमा १५ जना पक्राउ परेका छन्। अनलाइन बेटिङसम्बन्धी २ वटा मुद्दा दर्ता भई दुवै फर्छ्योट भएको र दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोबाइल बैंकिङ, क्यूआर कोड, डिजिटल वालेट, ई–कमर्स र सामाजिक सञ्जालको प्रयोग बढेसँगै अपराधीहरूले पनि प्रविधिको दुरुपयोग गर्दै आएका छन्। फिसिङ, ओटीपी चोरी, नक्कली लगानी योजना, अनलाइन जुवा, सट्टेबाजी, सामाजिक सञ्जालमार्फत हुने ठगी तथा डिजिटल वालेटको दुरुपयोगजस्ता अपराध बढ्दै गएका छन्।
प्रहरीको भनाइमा अपराधीहरूले अत्याधुनिक प्रविधिभन्दा पनि मानिसको लोभ, विश्वास, डर र उत्सुकताको फाइदा उठाएर ठगी गर्ने गरेका छन्। धेरैजसो अवस्थामा पीडितले ठगिएको थाहा पाएर उजुरी दिँदासम्म रकम विभिन्न बैंक, डिजिटल वालेट वा अन्तर्राष्ट्रिय वित्तीय सञ्जालमार्फत विदेश पठाइसकिएको हुने भएकाले अनुसन्धानमा चुनौती थपिएको छ।
प्रहरीले साइबर अपराध नियन्त्रणका लागि विद्यालय, कलेज तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। साथै बैंक, डिजिटल भुक्तानी सेवा प्रदायक, दूरसञ्चार कम्पनी र सामाजिक सञ्जालसँग समन्वय बढाएर शंकास्पद खाता तथा नम्बरको निगरानी गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
यसैबीच विश्वकप फुटबलको अवसरमा अनलाइन जुवा, सट्टेबाजी र डिजिटल ठगी बढ्न सक्ने भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। प्रहरीले ओटीपी, पासवर्ड, बैंक खातासम्बन्धी विवरण कसैसँग पनि साझा नगर्न, अविश्वसनीय लगानी योजना तथा चिठ्ठा परेको भन्ने प्रलोभनमा नपर्न र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।