विराटनगर । मेची राजमार्गको राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध हुनुका साथै वैकल्पिक सडक मार्गहरू समेत ध्वस्त भएपछि इलाम नगरपालिकाले नगर क्षेत्रलाई ‘विपद संकटग्रस्त क्षेत्र’ घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
इलाम, पाँचथर र ताप्लेजुङको मुख्य राजमार्ग मानिने उक्त राजमार्ग अवरुद्ध हुँदा इलाम सदरमुकामसहित वरपरको जनजीवन अस्तव्यस्त बनेको छ । लगातारको पहिरो, जमिन भासिने समस्या र वैकल्पिक मार्गका बेलिब्रिज तथा डाइभर्सनहरू बाढीले बगाएपछि उक्त क्षेत्रमा खाद्यान्न, औषधि र खाना पकाउने ग्यासको गम्भीर हाहाकार सिर्जना भएको छ ।
इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाको अध्यक्षतामा बसेको बुधबार बसेको सर्वपक्षीय भेलाले ‘विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४’ को दफा ३२ बमोजिम नगर क्षेत्रलाई विपद संकटग्रस्त क्षेत्र घोषणाका लागि सिफारिस गरेको हो । उक्त निर्णय जिल्ला प्रशासन कार्यालय इलाममार्फत नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरिने नगरपालिका प्रमुख केदार थापाले बताए । भेलामा निवर्तमान सांसद महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सडक डिभिजन प्रमुख पवन भट्टराई, सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो ।
मेची राजमार्ग र वैकल्पिक मार्गहरू पूर्ण रूपमा ठप्प हुँदा इलामवासीले चरम संकट भोग्नुपरेको नगरप्रमुख थापाले बताएका छन् । नगरप्रमुख थापाका अनुसार मेची राजमार्ग पुरै अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गका रूपमा रहेका दुईवटा बाटोमध्ये केचना–कञ्चनजंघा मार्गको पुवाखोला र सिमलगोलाई–तिल्केनी मार्गको जोगमाई खोलामा हालिएका बेलिब्रिज गत असोजको भीषण बाढीले बगाएको थियो ।
त्यसपछि बनाइएका डाइभर्सनहरू पनि खोलाको बाढीले पटक–पटक बगाएको र हिलो तथा बिग्रिएको बाटोका कारण सवारी साधन सञ्चालन हुन नसक्दा इलाममा ग्यास, नुन, तेल र खाद्यान्नको गम्भीर अभाव भएको उनले जानकारी दिए । ‘यो मेची राजमार्ग पूरै अवरुद्ध छ । बनाइएका डाइभर्सनहरू पनि खोलाले पटक–पटक बगाएको बगाएकै छ । हिलो र बिग्रिएको बाटोका कारण गाडीहरू चल्न नसक्दा अहिले इलाममा ग्यासको अभाव, नुन–तेलको अभाव र खाद्यान्नको गम्भीर अभाव भइसकेको छ,’ थापाले भने, ‘इलाम यस्तो ठूलो समस्याग्रस्त बनेपछि बृहत् छलफल गरेर राज्यको पूर्ण शक्ति लगाएर भए पनि बाटो खोल्न र इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेका हौँ ।’
मेची राजमार्गको राजदुवाली खण्ड विगत वर्षदेखि नै दब्ने, भासिने र पहिरो जाने समस्याबाट ग्रस्त रहँदै आएको थियो । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य खाद्यान्न, औषधि र ग्यासको आपूर्ति नहुनुका साथै इलाम अस्पतालबाट रिफर गरिएका गम्भीर बिरामीहरूलाई झापातर्फ लैजान समेत अत्यन्त कठिन अवस्था सिर्जना भएको छ । यसका साथै सदरमुकामस्थित विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठन र आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।
झापादेखि इलाम, पाँचथर र ताप्लेजुङसम्म ढुवानी हुने अत्यावश्यकीय वस्तुहरूको आपूर्ति रोकिँदा जनजीवन अति प्रभावित भएकाले इलाममा खाद्यान्न, औषधि र ग्यासको नियमित आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन उद्योग वाणिज्य संघ इलामलाई अनुरोध गर्ने निर्णय समेत भेलाले गरेको छ । यसका साथै गोलाखर्कको राजदुवाली क्षेत्रमा निरन्तर जमिन भासिने र पहिरो जाने मुख्य कारण पुवाखोला जलविद्युत आयोजनाको सुरुङमार्ग र हेडटेङ्कमा हुन सक्ने लिकेज पनि हुन सक्ने स्थानीयको आशंका रहेकाले सो सुरुङमार्ग र हेडटेङ्कको क्षेत्रमा तत्काल प्राविधिक टोली खटाई अध्ययन गराउन र प्रतिवेदनका आधारमा तत्काल मर्मतसुधार गर्न नेपाल विद्युत प्राधिकरण इलामलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यसैबीच जिल्लामा इन्धन, खाना पकाउने ग्याँस लगायतका सामग्री अभाव छ भने, बजारमा पाइने खाद्यान्न, तरकारी लगायतका सामग्रीमा पनि मुल्य बढेको छ । यता समयमा अस्पताल पुु¥याउन नसक्दा चार जना मानिसको मृत्युु समेत भइसकेको स्थानीय बताउँछन् । सडक सम्बन्ध विच्छेद भएपछि त्यसको असर होटल, पर्यटन, यातायातसहित सबै सजो व्यवसाय र किसानहरुमा उत्तिकै रहेको छ । २०८२ असोज १८ गते रातीको वर्षा र बाढी पहिरो पछि संकटतर्फ धकेलिएको इलाममा अहिले पनि अत्यन्तै संकट भएको भन्दै संकटग्रस्त जिल्ला घोषणा गरेर नागरिकलाई आधारभूत आवश्यकता पुरा गर्नुुपर्ने जिल्ला बासीको माग छ । किसानले उत्पादन गरेका दूूध, तरकारी, घिउ, छुर्पी, चिया लगायत नगदे बालीहरुको निकासी हुन नसक्दा घाटा भइरहेको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।