विराटनगर । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका गाडी चालक र दुर्घटनामा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ स्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पथरीशनिश्चरे–१०, त्रिवेणी चोक बस्ने ६० वर्षीय गोबिन्द लिम्बु गम्भीर घाइते भएका थिए। घाइते लिम्बुको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले सवारी ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान तीव्र बनाएको थियो ।
दुर्घटना गराएर फरार भएको सवारी साधन र चालकको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले साउन ६ गते राति करिब १०ः०० बजे सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित हेभी इक्युपमेन्ट सडक डिभिजन विभागको कार्यालय परिसरमा लुकाइछिपाइ राखिएको अवस्थामा बा २ झ २२२६ नम्बरको स्कार्पियो गाडी फेला पारेको छ।
गाडीसँगै चालक सिरहाको सुखीपुर गाउँपालिका वडा नं. ८ बस्ने ४४ वर्षीय राम उद्गार मण्डललाई समेत पक्राउ गरिएको छ। पक्राउ परेका चालक मण्डल र नियन्त्रणमा लिइएको सवारी साधनलाई इलाका प्रहरी कार्यालय पथरी, मोरङमा ल्याएर थप कानुनी अनुसन्धान भइरहेको मोरङका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।