इलाम । इलाम नगरपालिका–८ स्थित बज्रदेवी क्षेत्रमा बोलेरो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्।
झापाबाट इलामतर्फ आउँदै गरेको प्र १–०१–००१ ज ४१३२ नम्बरको बोलेरो बिहीबार दिउँसो करिब १ बजे उकालो सडकमा अनियन्त्रित भई सडकबाट करिब ६० फिट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
दुर्घटनामा झापाको कन्काई नगरपालिका–९ का ४० वर्षीय नाजु आलम, ४७ वर्षीय गोपालप्रसाद दुलाल, सुनसरीको धरान उपमहानगरपालिका–१० की ३६ वर्षीया रिता चेम्जोङ, चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का ३३ वर्षीय रमेश चेम्जोङ, झापाको दमक नगरपालिका–७ का २२ वर्षीय रोहिन लावती, धरान–१० का ७३ वर्षीय महेशकुमार राई र उनका ३४ वर्षीय छोरा मनकुमार राई घाइते भएका छन्।
दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको छ।
प्रहरीका अनुसार नाजु आलम र महेशकुमार राईको अवस्था मध्यम छ भने अन्य पाँच जनाको अवस्था सामान्य रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।