लोड हुँदैछ...

मेनु

कोशी प्रदेश

कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोड बढी

कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोड बढी

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ मा कुल ३० अर्ब ३८ करोड ४७ लाख ३२ हजार ४३९ रुपैयाँ आम्दानी गरेको छ । प्रदेश सरकारको असार मसान्तसम्मको विवरण अनुसार कुल प्राप्त आयमध्ये प्रदेशको आफ्नै आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोड ८४ लाख ४४ हजार ९११ रुपैयाँ रहेको छ । बाँकी ठूलो हिस्सा भने संघीय सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँड र रोयल्टी लगायतका स्रोतबाट जुटाइएको हो ।

प्रदेश सरकारको आन्तरिक आयतर्फ सवारी साधन र घरजग्गा रजिस्ट्रेसन करको हिस्सा सबैभन्दा बढी देखिएको छ । विवरण अनुसार सवारी साधन कर बाँडफाँडबाट १ अर्ब ५१ करोड ६२ लाख ३८ हजार २५७ रुपैयाँ र घरजग्गा रजिस्ट्रेसन दस्तुरबापत १ अर्ब ४१ करोड ७८ लाख १५ हजार ८८६ रुपैयाँ संकलन भएको छ ।

यसैगरी सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता दस्तुरबापत ६३ करोड ३० लाख ६५ हजार ४० रुपैयाँ, दहतर बहतरको बिक्रीबाट ३१ करोड २३ लाख ९५ हजार २६९ रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत १३ करोड १० लाख ९४ हजार ८९ रुपैयाँ आन्तरिक खातामा दाखिला भएको छ । यसका साथै बेरूजू असुलीतर्फ १२ करोड २२ लाख ९२ हजार ६३२ रुपैयाँ संकलन भएको छ ।
संघीय सरकारबाट मूल्य अभिवृद्धि कर (भ्याट) बाँडफाँडबापत ८ अर्ब ८९ करोड ४३ लाख ६४ हजार ४४७ रुपैयाँ र वित्तीय समानीकरण अनुदानबापत ८ अर्ब २१ करोड ५३ लाख १९ हजार ३०० रुपैयाँ प्राप्त भएको छ ।

त्यसैगरी अन्त शुल्क बाँडफाँडबाट ३ अर्ब २१ करोड ३९ लाख १९ हजार ८०२ रुपैयाँ, चालु सशर्त अनुदानबाट २ अर्ब ३९ करोड ५५ लाख २९ हजार ४५३ रुपैयाँ र पूँजीगत सशर्त अनुदानबाट १ अर्ब ५५ करोड १४ लाख ८१ हजार २५२ रुपैयाँ प्राप्त भएको छ । विशेष अनुदान चालुतर्फ ३४ करोड ५ लाख रुपैयाँ, विशेष पूँजीगततर्फ २१ करोड ६७ लाख रुपैयाँ तथा समपूरक अनुदान पूँजीगततर्फ ३९ करोड १७ लाख रुपैयाँ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ भने पर्वतारोहण र विद्युत रोयल्टीबापत क्रमशः २२ करोड ७१ लाख र १० करोड ३२ लाख रुपैयाँ आम्दानी भएको छ ।

आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै प्रदेश सरकारको खातामा ३ अर्ब ४४ करोड ७६ लाख ९२ हजार ४८५ रुपैयाँ कुल आय जम्मा भएको छ । जसमा असार महिनामा मात्र संकलित आन्तरिक राजस्व ९० करोड ९ लाख ५९ हजार ३३१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।