विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा देशको पूर्वी भूभागमा सामान्य बदली र पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशमा हाल सामान्य बदलीको अवस्था छ भने पश्चिम नेपालका प्रदेशहरूमा वर्षाको जनजीवन प्रभावित हुन सक्ने सम्भावना छ।
कोशी, मधेस र बागमती प्रदेशमा आज दिनभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी प्रदेशका पहाडी भूभागका थोरै स्थान र तराईका एक-दुई स्थानमा मात्र मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशमा ठुलो वर्षाको सम्भावना न्यून रहे पनि आकाश भने पूर्ण रूपमा खुल्ने देखिँदैन।
आज दिउँसो र राति विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको प्रभाव बढी रहनेछ। दिउँसो यी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
राति भने पश्चिम नेपालमा मनसुन थप सक्रिय हुने देखिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ। विभागका अनुसार यी चार प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
पश्चिम नेपालका धेरै स्थानमा वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका नदी तटीय क्षेत्र र भिरालो जमिनमा बस्ने बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। यस्तै, देशभर चट्याङ्गको समेत जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।