लोड हुँदैछ...

मेनु

कोशी प्रदेशसभा बैठक : सहमतिको ड्राफ्ट संसदमा प्रस्तुत हुने

कोशी प्रदेशसभा बैठक : सहमतिको ड्राफ्ट संसदमा प्रस्तुत हुने

विराटनगर । बजेट विवादका कारण पटकपटक स्थगित हुँदै आएको कोशी प्रदेशसभाको आजको बैठक पनि अझै सुरु भएको छैन । दिउँसो १ बजेका लागि तय भएको बैठक डेढ घण्टा वितिसक्दा पनि सुरु हुन नसकेको हो ।

कोशी प्रदेश सत्तापक्षबीच मै लामो समयदेखि चल्दै आएको बजेट विवाद समाधानको लागि ६ सदस्यीय कार्यदलमा हिंजो राती सहमति जुटेको थियो । उक्त सहमतिलाई संसदमा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले पढेर सुनाउने सांसदहरुले बताएका छन् । तर, संसदमा पढ्ने उक्त सहमतिको भाषा मिलाउन नसक्दा समयमै बैठक बस्न नसकेको हो । ‘अहिले भाषा मिलाउने छलफलमा छौं,’ एमालेका एक सांसदले भने, ‘यो पढ्ने भाषा मिलेलगत्तै बैठक सुरु हुन्छ ।’

एमाले र काँग्रेसले बनाएको ६ सदस्यीय कार्यदलले मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित गरेको बजेट कटौती गरेर अन्य निर्वाचन क्षेत्रहरूमा सन्तुलन मिलाउने सहमति गरेको छ ।

जसअनुसार मन्त्रालयगत भौतिक पूर्वाधार विकास मन्त्री प्रदिपकुमार सुनुवारले आफ्नो क्षेत्रमा लगेको ४० प्रतिशत, खानेपानी मन्त्री तिलचन पाठकले ३० प्रतिशत र अन्य मन्त्रीहरूले १० प्रतिशत बजेट समर्पण गर्ने सहमति भएको छ । यो सहमति लागू भए १ अर्ब रकम बचत हुने र त्यो रकम अन्य निर्वाचन क्षेत्रमा विनियोजन गर्नुपर्ने कार्यदलको सुझाव छ।

कार्यदलमा एमालेका प्रमुख सचेतक रमेश बस्नेत, होमबहादुर थापा र रामबहादुर मगर तथा काग्रेसका दलका उपनेता हिमाल कार्की, विनोद वान्तवा र सचेतक गोपाल तामाङ रहेका थिए । यो सहमतिसँगै कोशी प्रदेशमा बजेटको बारेमा देखिएको विवाद समाधान हुने अपेक्षा गरिएको छ । बजेट विवादकै कारण प्रदेशसभाको असार ११ गते, १६ गते र १८ गतेका लागि तय गरिएको बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।