विराटनगर । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) को वार्षिक अवार्ड समारोहमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले कीर्तिमानी प्रदर्शन गर्दै वर्चस्व कायम गरेको छ। जिल्लाकै सबैभन्दा प्रतिष्ठित मानिने तीन मुख्य विधासहित कुल १५ वटा सम्मान प्राप्त गरेर क्लबले ‘क्लिन स्वीप’ गरेको हो।
राजधानीमा आयोजित भव्य समारोहमा विराटनगर डाउनटाउनले आफ्नो सेवा, नेतृत्व र उत्कृष्ट व्यवस्थापन क्षमताको उच्च नमूना प्रस्तुत गर्दै ‘आउटस्ट्यान्डिङ क्लब’ को सर्वोच्च सम्मान हात पारेको छ। यसका साथै क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले ‘आउटस्ट्यान्डिङ प्रेसिडेन्ट’ र सचिव रोटेरियन पूनम राठीले ‘आउटस्ट्यान्डिङ सेक्रेटरी’ को उपाधि जित्न सफल भए। एकै वर्ष एकै क्लबले यी तीनवटै मुख्य विधामा उत्कृष्ट हुनुलाई रोटरी वृत्तमा विरलै हुने उपलब्धिका रूपमा हेरिएको छ।
विभिन्न विधामा सफलताको ओइरो
क्लबले सेवाका बहुआयामिक क्षेत्रहरूमा समेत आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ। वातावरण संरक्षण, स्थानीय अर्थतन्त्र प्रवर्द्धन, ह्याप्पी स्कूल परियोजना तथा बाल विकासका क्षेत्रमा सम्पादन गरेका उदाहरणीय कार्यका लागि क्लबले यी चार विधामा ‘विजेता’ को पुरस्कार प्राप्त गरेको छ।
यसैगरी, क्लब प्रशासन, सेवा परियोजना र वार्षिक कोष योगदानतर्फ क्लब ‘प्रथम रनरअप’ घोषित भएको छ। साथै, द रोटरी फाउन्डेसन (TRF), पब्लिक इमेज, र रोग रोकथाम तथा उपचार विधामा ‘द्वितीय रनरअप’ सम्मान प्राप्त गरेको छ। क्लबलाई यस वर्ष ‘१०० प्रतिशत टीआरएफ गिभिङ क्लब’ को विशेष मान्यता समेत प्रदान गरिएको छ।
क्लबको सामूहिक सफलतासँगै व्यक्तिगत योगदानको पनि उच्च मूल्याङ्कन गरिएको छ। रोटरी डिष्ट्रिक्ट मूल्याङ्कन टोलीमा रहेर पुर्याएको विशेष योगदानको कदरस्वरूप क्लबकी सदस्य रोटेरियन सुनिता अग्रवाललाई विशेष प्रशंसा सम्मान प्रदान गरिएको छ।
सामूहिक प्रयासको प्रतिफल: अध्यक्ष सारडा
ऐतिहासिक सफलतापछि प्रतिक्रिया दिँदै क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले यो उपलब्धि सम्पूर्ण क्लब परिवारको साझा मेहनतको परिणाम भएको बताइन्। “यो सफलता कुनै एक व्यक्तिको मात्र होइन, यो हाम्रा सबै सदस्यहरूको अटुट समर्पण, सामूहिक प्रयास र समुदायप्रतिको सेवाभावको प्रतिफल हो,” अध्यक्ष सारडाले भनिन्, “हाम्रो बोर्डको नेतृत्व र सदस्यहरूको सक्रिय सहभागिताले नै क्लबलाई यो उचाइमा पुर्याउन सम्भव भएको हो।”
रोटरी वर्ष २०२५–२६ अन्तर्गत सञ्चालन गरिएका शिक्षा, स्वास्थ्य, वातावरण, बाल विकास र आर्थिक सशक्तीकरणका प्रभावकारी कार्यक्रमहरूलाई मुख्य मूल्याङ्कनको आधार बनाइएको थियो। नेपाल र भुटानका सयौं रोटरी क्लबहरू र हजारौं रोटेरियनहरू सहभागी रहेको सो समारोहमा विराटनगर डाउनटाउनको यो उपलब्धिलाई डिष्ट्रिक्टकै एक उल्लेखनीय सफलताको रूपमा प्रशंसा गरिएको छ।
विराटनगरलाई कार्यक्षेत्र बनाएर सामाजिक सेवामा सक्रिय यस क्लबले प्राप्त गरेको यो सम्मानले स्थानीय स्तरमा रोटरीको छवि अझ उकासेको छ भने आगामी दिनमा थप जिम्मेवारीपूर्वक सेवाका कार्यमा लाग्न ऊर्जा प्रदान गरेको क्लबले जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।