विराटनगर । लगातार छ कारोबार दिन बढेको नेपाल स्टक एक्सचेन्ज परिसूचक बुधबार भने करेक्सनसहित घटेर बन्द भएको छ।
पछिल्ला छ कारोबार दिनमा १५६.३ अंकले बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि नेप्सेमा गिरावट आएको हो।
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घटेर २ हजार ७१२.५४ विन्दुमा कायम भएको छ। यससँगै सेन्सेटिभ इन्डेक्स २.१० अंक, फ्लोट इन्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५८ अंकले घटेको छ।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३४६ कम्पनीका एक करोड १३ लाख ६२ हजार कित्ता शेयर ५६ हजार ९४ पटक खरिदबिक्री हुँदा कुल ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य पुनः सकारात्मक सर्किट लाग्दै ६४ रुपैयाँ २० पैसा बढेर ४९२ रुपैयाँ ४० पैसामा पुगेको छ। त्यस्तै, बुंगल हाइड्रोपावरको शेयर मूल्य १०.५ प्रतिशतभन्दा बढी र सालपा विकास बैंकको शेयर मूल्य करिब ६ प्रतिशतले वृद्धि भएको छ। यता, ९।५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य सबैभन्दा धेरै ७.१६ प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ४२ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २८ करोड रुपैयाँभन्दा बढी तथा रिलायन्स स्पिनिङ मिल्सको २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बजारका १३ उपसमूहमध्ये वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य वृद्धि भएको छ भने बाँकी ११ उपसमूह घटेका छन्। सबैभन्दा धेरै व्यापार उपसमूह २.६० प्रतिशत र निर्जीवन बीमा उपसमूह १.२६ प्रतिशतले घटेको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।