लोड हुँदैछ...

मेनु

‘३ नम्बर ढाट’ खोल्न माग गर्दै रानीमा प्रदर्शन, प्रहरीद्वारा लाठीचार्ज

‘३ नम्बर ढाट’ खोल्न माग गर्दै रानीमा प्रदर्शन, प्रहरीद्वारा लाठीचार्ज

विराटनगर । विराटनगर–१६ रानीस्थित ‘३ नम्बर डाट’ नाका खुल्नुपर्ने माग राख्दै स्थानीय चाइना मार्केटका व्यापारीहरुले प्रदर्शन गरेका छन् ।

लामो समयदेखि नाका बन्द हुँदा व्यापार व्यवसाय धराशायी भएको भन्दै उनीहरु बिहीबार सडकमा उत्रिएका हुन् ।

नाका नखुल्दा बजारमा आर्थिक मन्दी आएको र आफूहरुको रोजीरोटी संकटमा परेको व्यापारी रामजी मण्डलले बताए । ‘लामो समयदेखि नाका बन्द छ, जसका कारण व्यापार ठप्प भएको छ,’ उनले भने, ‘नाका खोल्न पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनु परेको हो ।’

प्रहरी प्रशासनले भने उक्त नाकाबाट चोरी–तस्करी बढ्ने गरेको भन्दै वर्षौंदेखि आवतजावतमा रोक लगाउँदै आएको छ । केही समयअघि प्रशासनले सो नाकामा पोल गाडेर सिक्रीसमेत लगाएपछि पैदल यात्रीलाई समेत हिँडडुलमा समस्या भएको भन्दै व्यापारी थप आक्रोशित बनेका थिए ।
प्रदर्शनका क्रममा व्यापारीहरुले नाकामा लगाइएको सिक्री र पोल हटाउन खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनाव उत्पन्न भएको थियो । सो क्रममा भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारीहरु तितरबितर भएका थिए ।
अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको र सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।