विराटनगर । झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष र एक जना वडा सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका वडा नं. ५ का ५५ वर्षीय वडा अध्यक्ष महानन्द मण्डल र सोही वडाका ४६ वर्षीय वडा सदस्य गणेश ऋषिदेव रहेका छन्।
प्रहरीका अनुसार, रंगेली–५ बस्ने मनुवा कुमार महतोले अधनुनिया महतो आफ्नो आमा भएको दाबी गर्दै झुटो विवरण पेश गरेका थिए। सोही झुटो विवरणलाई आधार मानी वडा अध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवले अंगीकृत नेपाली नागरिकताका लागि सर्जमिन सिफारिस गरिदिएका थिए।
झुटो सिफारिस गरिएको तथ्य खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान कार्य भइरहेको छ। प्रहरीले यस सम्बन्धमा अन्य प्रक्रियाहरू अगाडि बढाइएको जानकारी दिएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।