विराटनगर । कोसी अस्पतालभित्रै प्रहरी प्रमुख (एसपी) विरुद्ध नाराबाजी गर्दै अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी–२ का सञ्जयकुमार मण्डल र बैजनाथ चौधरी छन् ।
प्रहरीका अनुसार उनीहरू मोरङ कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीका सहयोगी हुन् । कारागारबाट पक्राउ परेपछि बिरामी भएको भन्दै गिरीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । तर, स्वास्थ्य परीक्षणका क्रममा सबै रिपोर्ट नर्मल आएपछि प्रहरीले सोमबार राति उनलाई पुनः जिल्ला प्रहरी कार्यालय लैजाने तयारी गरेको थियो ।
सोही क्रममा अस्पतालमा रहेका मण्डल र चौधरीले अस्पतालको संवेदनशीलतालाई बेवास्ता गर्दै होहल्ला गर्नुका साथै मोरङका प्रहरी उपरीक्षक (एसपी) विरुद्ध नाराबाजी गरेका थिए । प्रहरी टोलीमाथि नै अभद्र व्यवहार गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले दुवैविरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । ‘बिहीबार जिल्ला प्रशासन कार्यालयमा अभियोग दर्ता गर्ने तयारी छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि प्रशासनले आवश्यक आदेश जारी गर्नेछ ।’
पक्राउ परेका मण्डल र गिरीबीच व्यवसायिक साझेदारी (पार्टनरसिप) समेत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गिरीलाई कारागारभित्रका कैदीबन्दीको रासन र पारिश्रमिक असुली गरेको उजुरीका आधारमा प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएको थियो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।