गोकुल पराजुली
विराटनगर । गत साता भारतको विहार राज्यस्थित कटिहारमा सूर्यको राप उच्च थियो । ४० डिग्री सेल्सियसको आसपासमा रहेको तापक्रमले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला त्यहाँका युवा किरण कुमारले एउटा निर्णय गरे, ‘गर्मी छल्न छिमेकी मुलुक नेपालको नजिकको पहाड चढ्ने ।’
आफ्ना पाँच साथीहरूसहित सार्वजनिक सवारी साधनमा जोगवनीसम्म रेलमा आए । विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गरी किरणसहितको टोली जब धनकुटाको भेडेटार पुग्यो, उनीहरुले कल्पनै नगरेको दृश्य देख्न पाए । “हाम्रोतिर बहुतै गर्मी छ, यहाँ त कुहिरोले ढकपक्कै छोपेको रहेछ, सिरसिर चिसो हावा चल्ने,” भेडेटारको एउटा खाजा घरमा थुक्पाको रसमा रमाउँदै गरेका किरणले मख्ख पर्दै हिन्दी भाषामा भने, “हामीले जे कल्पना गरेर आएका थियौं, यहाँको मौसम र वातावरण ठ्याक्कै त्यस्तै पायौं । हाम्रा लागि यो सबैभन्दा नजिकको र एकदमै रमाइलो हिलस्टेशन रहेछ ।”

किरणको टोली दुई दिन भेडेटार र नाम्जेको चिसोमा रमायो । उनीहरु फर्किने बेला निकै उत्साहित देखिन्थे । “हामी यहाँको अनुभव हाम्रा कटिहारका सबै साथीहरूलाई सुनाउने छौं, ताकि उनीहरू पनि यो मौसम र आतिथ्यको आनन्द लिन यहाँ आउन सकून्,” उनले थपे । किरण र उनका साथीहरूको यो अनुभवले कोशी प्रदेशमा भारतीय पर्यटकहरूको बढ्दो आकर्षणलाई स्पष्ट त पारेको छ नै अझ यहाँको पर्यटन व्यवसायको भविष्य कति उज्ज्वल छ भन्ने संकेत पनि गरेको छ । भेडेटारमा दैनिक किरणजस्ता सयौं भारतीय पर्यटकहरु यो मौसममा आउने गरेका छन् ।
भौगोलिक निकटता र प्रवेशका द्वारहरू
कोशी प्रदेशको पर्यटन व्यवसायको मेरुदण्ड नै भारतीय पर्यटक हुन् । नेपाल र भारतबीचको खुल्ला सिमाना र भौगोलिक निकटताले गर्दा सीमावर्ती भारतीय सहर र बस्तीका मानिसहरु शान्त र शितल वातावरणमा रमाउनका लागि नजिकको नेपाली गन्तव्यहरु रोज्ने गरेका छन् ।
पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठ कोशी प्रदेशको भौगोलिक विशिष्टता र प्रवेश नाकाहरूका बारेमा भन्छन्, “हाम्रो प्रदेश भनेको भारतको दुइटा ठूला–ठूला र एउटा सानो भारतको प्रान्त बिहार, बंगाल र सिक्किमको नजिक रहेको ठाउँ हो । र, ठूलो चारवटा हाम्रा मुख्य नाकाहरू पशुपतिनगर, काँकडभिट्टा, विराटनगर र कोशी ब्यारेज हुन् । यी चारवटा ठाउँबाट र विराटनगर एयरपोर्ट र भद्रपुर एयरपोर्टबाट भारतीय पर्यटक वा अन्य पर्यटकहरू हाम्रा ठाउँमा आउँछन् ।”
भन्सार विभागको तथ्याङ्कले पनि श्रेष्ठको भनाइलाई पुष्टि गर्छ । जेठ ७ गतेदेखि सरकारले भारतीय साना सवारीको विवरण राख्न थालेपछि देखिएको तथ्याङ्क निकै उत्साहजनक पाइएको छ । जेठ मसान्तसम्म टिआइभीमा ८६ हजार ५२ वटा सवारी साधन दर्ता भएको र ६५ हजार भन्दा बढी भारतीय साना सवारी साधनहरु नेपाल प्रवेश भएको भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिनुभयो । यस अवधिमा करिब २ लाखभन्दा बढी भारतीयहरू साना सवारी साधनहरु नेपाल प्रवेश गरेको अनुमान गरिएको छ । कोशी प्रदेशका मुख्य नाकाहरूबाट मात्रै एक महिनामा ११ हजारभन्दा बढी साना सवारी साधन भित्रिएका छन् ।

पर्यटन प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेदेखि जेठ मसान्तसम्म काकडभिट्टा नाकाबाट १ लाख ५४ हजार ३३ जना पर्यटकहरु नेपाल प्रवेश गरेका छन् । त्यसमध्ये ८ हजार ९१९ जना तेस्रो मुलुकका पर्यटक सो नाकाबाट नेपाल प्रवेश गरेको पर्यटन प्रहरी शाखाले जानकारी दिएको छ । पर्यटन कार्यालय काकडभिट्टाको तथ्यांक अनुसार इलामको पशुपतिनगर र काकडभिट्टा गरी दुई नाकाबाट एघार महिनामा १ लाख ३१ हजार ९१५ पर्यटक प्रवेश गरेको र त्यसमध्ये ३८ हजार ९६८ बाह्य पर्यटक नेपाल प्रवेश भएको देखिन्छ ।
कोशी प्रदेशको विराटनगर नाकाबाट यस अवधिमा टिआइभी दर्ता भई २ हजार ७२१ साना सवारी साधन प्रवेश भएका छन् । चैत १ गतेदेखि यता जेठ ७ गतेसम्म मात्र ६ हजार ६२९ साना सवारी र ४४८६ मोटरसाइकल औपचारिक रुपमा भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
यसैगरी मेची भन्सार कार्यालयबाट पनि यस अवधिमा ३ हजार भन्दा बढी साना सवारी साधनबाट भारतीय पर्यटकहरु नेपाल प्रवेश गरेको जानकारी दिइएको छ । सुनसरी भन्सारबाट टिआइभी दर्ता भई ३ हजार ९४२ सवारीमा भारतीयहरु यस अवधिमा प्रवेश गरेको प्रमुख भन्सार अधिकृत रामराजप्रसाद चौरसियाले जानकारी दिए । यस्तै भद्रपुर भन्सार भएर एक हजार १२७ चारपाङ्ग्रे र ५८८ मोटरसाइकल नेपाल प्रवेश भएको तथ्यांक भन्सार अधिकृत प्रभुनारायण मेहताले दिए ।
आस्था र प्रकृतिको संगमः बहुआयामिक पर्यटन
भारतीय पर्यटकहरू नेपाल केवल गर्मी छल्न मात्र आउँदैनन् । उनीहरूको आगमनका पछाडि धार्मिक आस्था, स्वास्थ्य उपचार, र मनोरञ्जन आदि उद्देश्य लिएर पनि आउने गरेका छन् । व्यवसायी श्रेष्ठका अनुसार, “खुल्ला बोर्डर भएकोले भारतीय पर्यटकहरू चाहे त्यो स्वास्थ्य पर्यटकको रूपमा होस्, चाहे धार्मिक पर्यटकको रूपमा होस्, सांस्कृतिक, प्राकृतिक वा खेल पर्यटन (क्यासिनो) को रूपमा होस्, भारतीय पर्यटकहरू बढ्दो अवस्थामै छन् । अब क्वालिटीका पर्यटकहरू कमै मात्रामा भए पनि क्वान्टिटीको आधारमा पर्यटकहरू आइरहेकै छन् ।”

धार्मिक पर्यटनको कुरा गर्दा सुनसरीको वराहक्षेत्र धाम भारतीयहरूको प्रमुख आस्थाको केन्द्र हो । वराहक्षेत्र विकास समितिका अध्यक्ष अविजाल विष्टका अनुसार जेठ–असार महिनामा मात्र ५ लाखभन्दा बढी श्रद्धालुले यहाँ भ्रमण गरेका थिए, जसमा भारतीयहरूको संख्या उल्लेख्य थियो । त्यस्तै, इलामको कन्याम र अन्तुडाँडा पर्यावरणीय पर्यटनका लागि र ताप्लेजुङको पाथीभरा धाम धार्मिक यात्राका लागि भारतीयहरूको सूचीमा पहिलो नम्बरमा पर्छन् ।
पछिल्लो समय भारतीय युवाहरूका लागि नेपालका क्यासिनो र रिसोर्टहरू खेल पर्यटनका लागि आकर्षणको केन्द्र बनेका छन् । विराटनगर र काँकडभिट्टा क्षेत्रमा खुलेका सुविधासम्पन्न होटल र क्यासिनोहरूले भारतीय पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
पूर्वाधारको तगारो र बसाइ लम्ब्याउने चुनौती
पर्यटकको संख्या बढे पनि उनीहरूलाई लामो समयसम्म टिकाइराख्नु अहिलेको मुख्य चुनौती हो । धेरैजसो भारतीय पर्यटकहरू सीमावर्ती सहरबाट आउने र छोटो समयमै फर्किने गरेका छन् । व्यवसायी भविसकुमार श्रेष्ठ यस विषयमा चिन्ता व्यक्त गर्दै भन्नुहुन्छ, “ती पर्यटकहरूलाई हामीले बसाइ लम्ब्याउन सकिरहेका छैनौँ । बिहान आउने बेलुका फर्किने, या एक रातसम्म बस्ने भोलिपल्ट बिहानै फर्किने । ती पर्यटकहरूलाई बसाइ लम्ब्याउनका लागि हामीले यी पहाडका ठाउँहरूमा वा मधेशमा निजी क्षेत्रले होटल, ट्राभल एजेन्सी त खोलेकै छन्, तर यतिले पुग्दैन । एक्टिभिटी गर्ने थप ठाउँहरू बनाउनुपर्छ ।”
बसाइ लम्ब्याउनका लागि थप गन्तव्यको प्रचारमा कमी देखिएको व्यवसायीहरुको भनाइ छ । त्यसबाहेक पूर्वाधार र सडक मार्गको अवस्था यात्राका लागि केही बाधक बन्ने गरेको छ । कोशी प्रदेशका मुख्य धार्मिक स्थल पुग्ने सडकहरू अझै पनि कष्टकर छन् । श्रेष्ठले भने, “धार्मिक पर्यटकीय स्थलहरूमा धेरै पर्यटकहरू आउँछन्, त्यहाँसम्म पुग्ने स्थलमार्गको राम्रो सुविधा हुनुपर्छ, अहिले त्यसको कमी छ । हामीलाई हलेसी जाने बाटो धेरै अप्ठ्यारो छ । बराहक्षेत्र नजिकै छ तर झन् अप्ठ्यारो छ । पाथीभरा जाने बाटो पनि धेरै टाढा र धेरै हिँड्नुपर्छ । यस्ता खालका ठाउँहरूमा भारतीय पर्यटकलाई एक्सेस राम्रो बनाइदिने हो भने अहिले आइरहेको भन्दा धेरै भारतीय पर्यटकहरू आउँछन् र ल्याउन सकिन्छ ।”
भेडेटारका पर्यटन व्यवसायी एवं साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली पनि सरकारले सीमा क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्मको यात्रालाई सहज र सुरक्षित बनाउनुपर्नेमा उनको जोड छ ।
तथ्याङ्क व्यवस्थापन र प्रचार–प्रसारको अभाव
नेपाल प्रवेश गर्ने भारतीय पर्यटकको यकिन तथ्याङ्क नहुँदा योजना बनाउन भने सधैं समस्या हुने गरेको व्यवसायीहरूको गुनासो छ । खुल्ला सिमानाका कारण पैदल आउने र साना सवारीमा आउनेहरूको एकीकृत विवरण राख्ने संयन्त्रको अभाव छ । यसका लागि सीमा क्षेत्रमा ‘पर्यटन सूचना केन्द्र’ को आवश्यकता खड्किएको छ । जोगवनी हुँदै विराटनगर आउने र कोशी ब्यारेज भएर सुनसरी प्रवेश गर्ने पर्यटकहरुका लागि यो समस्या विगदेखिकै हो । त्यसलाई सम्बोधन गर्ने तर्फ सरकारले प्रभावकारी पहल नगरेको व्यवसायीहरुको भनाइ छ ।
श्रेष्ठको सुझाव छ, “भारतीय पर्यटक कति आए भन्ने हामीसँग लेखाजोखा छैन । खुल्ला बोर्डर छ, गाडी यति आयो भन्ने त हुन्छ तर खास पर्यटक कति आए र के उद्देश्यका साथ आए भन्ने यकिन तथ्यांक राखिएको छैन । त्यसैले हामीले सरकारलाई निजी क्षेत्रले भनिरहेका छौं— कमसेकम यो चारवटा बोर्डरमा पर्यटन सूचना केन्द्र राख्नुपर्छ । त्यो भयो भने शतप्रतिशत डेटा नहोला, तर पनि क्वालिटी टुरिस्ट कति आइरहेको छ, एउटा गाडीमा कति, मोटरसाइकलमा कति, औषधि गर्ने कति भन्ने एउटा डेटा राख्न जरुरी छ ।”
प्रचार–प्रसारको पाटोमा पनि कानुनी जटिलताहरू रहेका छन् । प्रदेश सरकारले प्रत्यक्ष रूपमा भारतमा गएर ‘सेल्स मिसन’ वा प्रचार गर्न पाउने स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या भएको छ । “हाम्रो मेरुदण्ड भनेकै भारतीय पर्यटक हो । तर हाम्रो प्रदेश सरकार, पर्यटन मन्त्रालयले भारतमा गएर प्रचार–प्रसार गर्न सक्दैन, नियम कानुन छैन । संघीय सरकारकै नेपाल पर्यटन बोर्ड जानुपर्ने हुन्छ, तर नेपाल पर्यटन बोर्ड देशभरि छैन, काठमाडौंमा मात्र सीमित छ,” पर्यटन व्यवसायी पुण्य भट्टराईले भने ।
आगामी दिशा र राजनीतिक व्यवहार
कोशी प्रदेशमा भारतीय पर्यटकको आगमन बढाउन पूर्वाधार विकास मात्र गरेर पुग्ने अवस्था छैन, पर्यटक ल्याउनका लागि सरकारले गर्नुपर्ने निर्णय, लिनुपर्ने नीतिमा सुधार गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ । मुख्य गरेर राष्ट्रवादी देखिनका लागि राजनीतिक दलका नेताहरुले भारतको नामै लिएर व्यक्त गर्ने धारणा, गर्ने गाली, भारतीय नागरिकलाई नेपाली नागरिक तहबाट व्यक्त गरिने घृणायुक्त शव्दहरु र सीमा क्षेत्रमा सुरक्षा जाँचको नाममा दिइने सास्तीले पर्यटकको मानसिकतामा नकारात्मक छाप पार्ने गरेको छ । त्यस्ता कमजोरीलाई सुधार्नु पर्ने व्यवसायी श्रेष्ठको सुझाव छ । उनले भने, “राजनीतिक क्षेत्रमा पनि विभिन्न समयमा भारतीय जनतालाई वा मान्छेहरूलाई गाली गर्ने हाम्रो चलनले पर्यटक बढाउँदैन उल्टो घाटा हुन्छ भन्ने ख्याल गर्नुपर्छ ।”
यद्यपि, हालको होटल पूर्वाधारले अहिलेका पर्यटकलाई पर्याप्त सेवा दिन सक्ने अवस्था छ । सरकारले आउँदो आर्थिक वर्षलाई ‘कोशी भ्रमण वर्ष’ को रूपमा मनाउने तयारी गरिरहेको छ । पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीका अनुसार भारतीय पर्यटकलाई आकर्षित कोशी– बिहार कार्यक्रम गरेका छौं, विद्यार्थीलाई ब्राण्ड एम्बेस्डरको रुपमा भारतीय क्षेत्रमा प्रचार गराउने, नेपाली भाषी भारतीयहरुलाई लक्षित गरी कार्यक्रम गर्ने र भारतीय पर्यटकहरुलाई थप आकर्षित गर्ने तर्फ काम गर्ने तयारी भइरहेको छ ।

कोशी प्रदेशको पर्यटन व्यवसायको भविष्य भारतीय पर्यटकमा बढी निर्भर रहँदै आएको छ । कटिहारबाट आएका किरण कुमारको टोलीले भेडेटारको चिसो कुहिरोमा जुन आनन्द महशुस ग¥यो, त्यही आनन्द लाखौं भारतीयहरूलाई दिलाउन सकिन्छ । तर त्यसका लागि केवल प्रकृति मात्र बेचेर पुग्दैन, सडकको सहजता, सीमामा हुने झन्झटको अन्त्य र प्रभावकारी सूचना केन्द्रको व्यवस्था आवश्यक छ ।
धार्मिक स्थलसम्मको पहुँच र साहसिक पर्यटनका गतिविधिहरू थप्न सके कोशी प्रदेश भारतीय पर्यटकका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘हिलस्टेशन’ र ‘रिलिजियस हब’ बन्ने निश्चित छ । व्यवसायी भविसकुमार श्रेष्ठले भने झैं, भारतीय पर्यटकलाई ‘क्वान्टिटी’ बाट ‘क्वालिटी’ मा बदल्न र उनीहरूको बसाइ लम्ब्याउन अब सरकार र निजी क्षेत्रले ठोस योजनाका साथ काम गर्ने बेला आएको छ । कोशीको सुन्दरता र नेपालीको न्यानो आतिथ्यले भारतीय पाहुनालाई फेरि–फेरि बोलाइरहने वातावरण निर्माण गर्नु नै मुख्य आवश्यकता हो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।