विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विराटनगरस्थित घरमा प्रहरीले छापा मारेको छ। विराटनगर–८, मधुमारामा रहेको गिरीको निवासमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले अहिले खानतलासी गरेको हो।
मोरङका प्रहरीका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले अहिले गिरीको घर र परिसरमा ‘सर्च’ गरिरहेको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले घरमा शंकास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको जानकारी दिए।
‘हामीलाई घरमा शंकास्पद वस्तु रहेको विशेष सूचना प्राप्त भएको छ, सोही आधारमा प्रहरी टोलीले खानतलासी सुरु गरेको हो,’ एसपीले भने। यद्यपि, शंकास्पद वस्तु के हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन।
प्रहरीले गिरीको घर अगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको पनि खानतलासी गरेको छ। ती गाडीहरू गिरीले नै प्रयोग गर्दै आएका थिए।
यता, नेता गिरीले भने सत्ता परिवर्तन भएपछि आफूलाई दुःख दिने नियतले प्रहरी परिचालन गरिएको आरोप लगाएका छन्। उनले भने, ‘सरकार फेरिएपछि मलाई दुःख दिने र प्रतिशोध साँध्ने नियत बाहेक यो अरू केही होइन।’
अहिले पनि गिरीको घरभित्र प्रहरीले सर्च अपरेशन जारी राखेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।