लोड हुँदैछ...

मेनु

कोशी प्रदेश : बजेट विवाद समाधान गर्न काँग्रेस–एमालेको दौडधूप जारी

कोशी प्रदेश : बजेट विवाद समाधान गर्न काँग्रेस–एमालेको दौडधूप जारी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेटबारेमा सत्तारुढ दल काँग्रेस र एमालेभित्रै देखिएको विवाद समाधानका लागि दुई दल सक्रिय बनेका छन् ।

मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट लगेको र असन्तुलन कायम भएको भन्दै सांसदहरुले बजेट सन्तुलित बनाउनुपर्ने माग गरेपछि यसअघिका दुईवटा संसद बैठक बस्नै नसकी स्थगित भएको थियो । आजका लागि बोलाइएको संसद बैठक सुचारु गर्न एमाले र काँग्रेस दुवै पार्टीको संसदीय दलको बैठक अहिले बसिरहेको छ । ‘हामी छलफलकै क्रममा छौं । के गर्ने भन्ने निष्कर्ष निस्किएको छैन,’ एमाले दलका प्रमुख सचेतक रमेश बस्नेतले भने । एमाले दलको बैठक प्रदेशसभा सचिवालयमा जारी रहेको उनले बताए ।

उता, नेपाली काँग्रेसले पनि आफ्नो दलको बैठक जारी राखेको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठकको समय भइसक्दा पनि दलहरु छलफलमै छन् । एमाले र काँग्रेसले आ–आफ्ना दलको बैठकबाट निर्णय गरेपछि संयुक्त दुई दलको बैठक बस्ने तयारी भएको बुझिएको छ ।

सरकारले ल्याएको बजेटप्रति एमाले दलका उपनेता तिलकुमार मेन्याङ्बोसहित होमबहादुर थापा, एकराज कार्की लगाययतले असन्तुष्टि जनाउँदै बजेट सन्तुलित बनाउने भन्दै सक्रिय छन् । यस्तै काँग्रेसका पनि दलका उपनेता हिमाल कार्की, सांसदहरु विनोद राई, भुपेन्द्र राईलगायतका सांसदहरु बजेट सच्याउनु पर्नेमा जोड दिइरहेका छन् ।

यसैबीच बजेट विग्रिएको भन्दै मुख्यमन्त्रीले पनि कतिपय विषयहरु संसदीय मान्यता र परम्परा अनुसार सच्याउने प्रतिबद्धता राखेको बताइएको छ । एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वित्तीय हस्तान्तरण मार्फत बढी बजेट गएको क्षेत्रबाट स्थगित गरेर कम बजेट गएका क्षेत्रका पालिकालाई दिने गरी मिलाउने प्रतिबद्धता जनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।