लोड हुँदैछ...

मेनु

अन्तरवार्ता

‘ठूलो मेहनतपछि रेल आएको हो, यसलाई निरन्तरता दिनुपर्छ’

‘ठूलो मेहनतपछि रेल आएको हो, यसलाई निरन्तरता दिनुपर्छ’

विराटनगरमा कार्गो रेलको व्यावसायिक आगमन भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा नयाँ उत्साह छाएको छ । यो ऐतिहासिक उपलब्धि हासिल हुनुका पछाडि निजी क्षेत्रको दशकौँ लामो संघर्ष, पैरवी र नीतिगत वकालत पनि हो । विशेष गरी उद्योग संगठन मोरङको अध्यक्ष रहँदा सुयस प्याकुरेलले यस परियोजनालाई गति दिन, नीतिगत अन्योलहरू चिर्न र नेपाल–भारत दुवैतर्फका सरकारी तथा निजी क्षेत्रसँग समन्वय गर्न ठूलो मेहेनत र नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । विराटनगर कार्गो रेल सेवाको वर्तमान अवस्था, यसको नियमितताका चुनौतीहरू, लागत न्यूनीकरणका उपायबारेमा प्याकुरेलसँग कुराकानी गरिएको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

विराटनगरमा कार्गो रेल आइपुगेको छ । लामो समयको प्रयास सफल भएको यस क्षणलाई तपाईंले कसरी लिनुभएको छ ?

– यो हामी सबैका लागि अत्यन्त खुसी, उत्साह र गर्वको क्षण हो । म आफैँ उद्योग संगठन मोरङको अध्यक्ष रहँदा यो योजनालाई निष्कर्षमा पु¥याउन हामीले निकै ठूलो मेहेनत गरेका थियौँ । यो पाँच–छ वर्षको अथक प्रयास, नीतिगत पैरवी र कोरोना महामारी जस्ता अनेकौँ उतारचढावहरू पार गर्दै बल्ल–बल्ल साकार भएको सपना हो । विगतमा यस क्षेत्रको उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाउनका लागि हामीले संघीय सरकारदेखि भारतीय रेल्वे संयन्त्रसम्म जुन खालको डेलिगेसन र वकालत ग¥यौँ, त्यसैको व्यावहारिक प्रतिफल आज प्राप्त भएको छ । यो परियोजना करिडोरका लागि एउटा कोसेढुङ्गा हो र यसलाई अब हामीले जसरी पनि नियमित राख्नुपर्छ ।

रेलको आगमन त भयो, तर यसलाई दीर्घकालीन रूपमा ‘दिगो’ बनाउन अझै के–के सुधार आवश्यक देख्नुहुन्छ ?

– हो, केवल एउटा रेल विराटनगर आउनु मात्र आफैँमा अन्तिम सफलता होइन । यसलाई दिगो बनाउन मुख्य गरी यसको सञ्चालन प्रक्रिया र सेवा शुल्कमा सुधार आवश्यक छ । जबसम्म यसको समग्र लागत घट्दैन र यसले उद्योगीलाई आर्थिक रूपमा आकर्षित गर्दैन, तबसम्म यो दीगो हुन सक्दैन । नेपालतर्फको यार्डमा लाग्ने ह्यान्डलिङ र अनलोडिङ शुल्क केही महँगो नै छ । यसलाई परिमार्जन गर्नैपर्छ । ट्रान्स नेपालले त्यो गर्छु भन्नुभएको छ ।

तत्काल शुल्क महँगो छ भन्दैहुनुहुन्छ । फेरि सामान आउन सुरुवात भयो भनेर धेरै खुसी व्यक्त भइरहेको छ । यसका तत्कालका फाइदाहरू चाहिँ के हुन् ?

– यसको सबैभन्दा ठूलो फाइदा भनेको ढुवानीमा लाग्ने समय र सामग्रीको सुरक्षा हो । सडक मार्गबाट ट्रकमा सामान ल्याउँदा कोलकाता बन्दरगाहबाट कम्तीमा तीन दिन लाग्छ, तर रेलमार्गबाट ल्याउँदा २४ घण्टाभित्र सामान सोझै विराटनगर यार्डमा आइपुग्छ । यसले उद्योगहरूको इन्भेन्ट्री (सामान भण्डारण) लागतलाई निकै कम गरिदिन्छ । दोस्रो कुरा, यो ढुवानी प्रणाली निकै सुरक्षित छ । यसमा आधुनिक ट्र्याकिङ प्रणाली जडान गरिएको हुनाले सामान हराउने वा चोरी हुने डर हुँदैन । यो परम्परागत ट्रक ढुवानीभन्दा निकै आधुनिक र व्यवस्थित ट्रान्सपोर्ट मोडल हो ।

दीर्घकालीन रूपमा रेल सेवालाई नियमित बनाउन आर्थिक रूपमा कसरी सम्भव हुन्छ ?

– सिधा कुरा छ, यो आर्थिक रूपमा सडक मार्गभन्दा सस्तो हुनैपर्छ । यदि सडक मार्गबाट ट्रकमा सामान ल्याउनु भन्दा रेलबाट ल्याउँदा उद्योगीलाई फाइदा भएन भने कसैले पनि रेलको प्रयोग गर्दैनन् । रेल मार्गले व्यावसायिक सार्थकता पाउनका लागि यो पूर्ण रूपमा प्रतिस्पर्धी र लागत–प्रभावी हुनुपर्छ । यसका लागि यो सेवा सञ्चालन गर्ने ट्रान्स नेपाल वा भारतीय कन्कोरले ह्यान्डलिङ चार्जहरू घटाउनुपर्छ । सुरुमा थोरै परिमाणमा सामान आउँदा लागत बढी लागे पनि भोल्युम बढ्दै जाँदा दररेट घटाइने विश्वास हामीले लिएका छौँ । यसका साथै, हामी उद्योगीहरूले पनि रेललाई आवश्यक पर्ने लोड (सामान) नियमित रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुपर्छ ।

कार्गो रेल्वे ढुवानीमा सबैभन्दा ठूलो चुनौती ‘एकतर्फी ढुवानी’ र खाली फर्किने कन्टेनरहरूलाई मानिन्छ, यसको समाधान के हुन सक्छ ?

– यो निकै व्यावहारिक र संवेदनशील विषय हो । रेल आउँदा कन्टेनर भरिएर आउने तर फर्किँदा खाली जाने हो भने रेल्वे कम्पनीले आउने र जाने दुवैतर्फको भाडा नेपाली आयातकर्तासँगै असुल गर्छ, जसले गर्दा समग्र आयात लागत महँगो पर्न जान्छ । यसको दीगो समाधानका लागि नेपालतर्फबाट निर्यात हुने सामानहरू पनि सोही खाली कन्टेनरहरूमा लोड गरी फिर्ता पठाउने व्यवस्था मिलाउनुपर्छ ।

वीरगन्जको तुलनामा विराटनगरको भविष्यलाई कसरी हेर्नुहुन्छ ?

– वीरगन्जमा पनि सुरुका दिनहरूमा विराटनगरमा अहिले देखिएको जस्तै समस्या र अन्योलहरू थिए । तर आज त्यहाँ धेरैजसो औद्योगिक कार्गोहरू रेलबाटै आइरहेका छन् । विराटनगरमा पनि हामीसँग उत्कृष्ट भौतिक पूर्वाधार तयार भइसकेको छ । वीरगन्जको दररेट र मोडललाई अध्ययन गरेर यहाँको ह्यान्डलिङ र अनलोडिङ प्रक्रियालाई थप व्यावहारिक र प्रतिस्पर्धी बनाइयो भने विराटनगरको कार्गो रेल सेवा पनि पूर्ण रूपमा सफल र नियमित हुनेछ । यस ऐतिहासिक परियोजनालाई जीवित राख्न र यसको पूर्ण क्षमता उपयोग गर्न हामी उद्योगीहरू राज्य र सञ्चालक कम्पनीसँग हरेक प्रकारको सहकार्य गर्न पूर्ण रूपमा तयार छौँ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।