लोड हुँदैछ...

मेनु

कोशीको सत्ता फेरबदल : ९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री

कोशीको सत्ता फेरबदल : ९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री

विराटनगर । नेपालमा संघीयता कार्यान्वयनमा आएर प्रदेश सरकारहरू बन्न थालेयता कोशी प्रदेश (साविक प्रदेश १) राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो केन्द्रविन्दु बन्दै आएको छ । पछिल्लो समय फेरि नयाँ सरकार गठनको चर्चा चलिरहँदा, कोशी प्रदेश स्थापनायता ९ पटक सरकार गठन भइसकेको छ ।

प्रदेश सभाको पहिलो कार्यकालमा ३ र दोस्रो कार्यकालमा ६ गरी ९ वर्षको अवधिमा कोशी प्रदेशमा ९ पटक सरकार गठन भइसकेको छ । यस अवधिमा ६ जना फरक–फरक नेताहरूले मुख्यमन्त्रीको कुर्सीमा बस्ने अवसर पाएका छन् ।

२०७४ फागुन २ गते प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमा नेकपा एमालेका शेरधन राईले पदभार ग्रहण गरेका थिए । उनी नै हालसम्म कोशी प्रदेशमा सबैभन्दा लामो समय मुख्यमन्त्री बन्ने नेता हुन् । उनको कार्यकाल करिब साढे तीन वर्ष (२०७८ भदौ १० गतेसम्म) टिकेको थियो ।

तत्कालीन नेकपा विभाजनको असर प्रदेशसम्म परेपछि शेरधन राईले राजीनामा दिए र एमालेकै भीमप्रसाद आचार्यले २०७८ भदौ ११ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले । तर, एमाले विभाजन भएपछि उनको कार्यकाल जम्मा दुई महिना (२०७८ कात्तिक १५ सम्म) मात्र रह्यो । त्यसपछि गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र कुमार राई २०७८ कात्तिक १६ गते मुख्यमन्त्री बने । उनी पहिलो प्रदेश सभाको कार्यकाल सकिएर नयाँ निर्वाचन नहुन्जेल (२०७९ पुस २४ गतेसम्म) सत्तामा रहे ।

दोस्रो प्रदेश सभा निर्वाचन (२०७९) पछि त कोशी प्रदेशमा सत्ताको लुकामारी नै चल्यो । कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा वर्ष २०८० कोशीको संसदीय इतिहासमै सबैभन्दा अस्थिर वर्ष बन्न पुग्यो । २०८० सालभित्र मात्रै कोशीमा ५ पटक मुख्यमन्त्री फेरबदल भए ।

२०७९ पुस २५ गते पहिलो पटक मुख्यमन्त्री बनेका एमालेका हिक्मत कुमार कार्कीको सरकार ६ महिनापछि २०८० असार २१ गते ढल्यो । त्यसपछि कांग्रेसका उद्धव थापा २०८० असार २२ गते मुख्यमन्त्री नियुक्त भए । तर, सभामुखको हस्ताक्षर प्रयोग गरेको भन्दै सर्वोच्च अदालतको आदेशबाट उनको सरकार २४ दिनमै (साउन १६ गते) ढल्यो ।

लगत्तै २०८० साउन १७ गते थापा नै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भए, तर सभाध्यक्षलाई मतदान गराएको भन्दै सर्वोच्चले फेरि उनको सरकार बर्खास्त गरिदियो । उनको दोस्रो कार्यकाल पनि भदौ २१ गतेसम्म मात्रै टिक्यो ।

उद्धव थापाको सरकार ढलेपछि सर्वोच्च अदालतको परमादेशबाट २०८० भदौ २२ गते एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की दोस्रो पटक मुख्यमन्त्री बने । तर विश्वासको मत नपाउने भएपछि उनी पनि जम्मा एक महिना (असोज २७ गतेसम्म) मात्र सत्तामा रहे ।

त्यसपछि कांग्रेसभित्रै विद्रोह गरेर केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम २०८० असोज २८ गते मुख्यमन्त्री बने । केदार कार्कीले करिब ७ महिना सरकार चलाए पनि केन्द्रमा फेरिएको एमाले–माओवादी गठबन्धनको असर कोशीमा प¥यो । प्रदेश सभाबाट विश्वासको मत गुमाएपछि केदार कार्की २०८१ वैशाख २६ गते पदमुक्त भए ।

त्यसलगत्तै २०८१ वैशाख २७ गतेदेखि हिक्मत कुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भई हालसम्म पदमा बहाल रहेका छन् । तथ्याङ्कलाई समग्रमा हेर्दा एउटै प्रदेश सभा कार्यकालमा एमालेका हिक्मत कुमार कार्कीले सर्वाधिक ३ पटक र कांग्रेसका उद्धव थापाले २ पटक मुख्यमन्त्री पदको सपथ लिएका छन् । शेरधन राई, भीमप्रसाद आचार्य, राजेन्द्र कुमार राई र केदार कार्कीले एक–एक पटक प्रदेशको नेतृत्व सम्हालेका छन् । अहिले फेरि केन्द्रमा कांग्रेस र एमालेबीचको समीकरण संकटमा परेसँगै कोशी प्रदेशमा १० औं पटक नयाँ सरकार गठन हुने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।