उदयपुर । उदयपुरमा जंगली हात्तीको आतंक फेरि बढ्न थालेको छ। यस वर्ष गर्मीयाममै हात्तीको बथान गाउँबस्तीमा प्रवेश गर्दा स्थानीय त्रसित बनेका छन्।
केही दिनअघि सुनसरीबाट सप्तकोशी नदी पार गर्दै उदयपुर प्रवेश गरेको जंगली हात्तीको बथानले सुरुमा बेलका नगरपालिकाका विभिन्न क्षेत्रमा अन्नबालीमा क्षति पुर्याएको थियो। त्यसपछि असार १२ गते बेलकाको जंगलबाट चौदण्डीगढी नगरपालिका–३ हात्तिसार हुँदै प्रवेश गरेको बथानले स्थानीयका केही घरमा सामान्य क्षति पुर्याएको थियो।
शनिबार राति भने चौदण्डीगढी नगरपालिका–७ कुमाङमा करिब १२ देखि १५ वटा हात्ती (बच्चासहित) को बथान गाउँ पसेर स्थानीयका घर तथा अन्नबालीमा व्यापक क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जंगली हात्तीले स्थानीय खिलबहादुर मगर, वृद्धिमाया राई, बमबहादुर विक, रोशन विक, लक्ष्मी विक, वीरबहादुर मगर र राधा विकका टिन तथा काठले बनेका घरमा क्षति पुर्याएको छ। साथै अन्नपात र खेतीबालीसमेत नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार घटनाबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
हात्ती गाउँमा प्रवेश गरेपछि इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक प्रभात लक्ष्मण लिम्बू, सशस्त्र प्रहरी बल बेल्टार बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विजित कटवालको नेतृत्वमा प्रहरी तथा सशस्त्र प्रहरीको टोली र चौदण्डीगढी नगरपालिकाका कर्मचारी घटनास्थल पुगेका थिए। स्थानीयको सहयोगमा साइरन बजाउँदै तथा अन्य उपाय अपनाएर हात्तीलाई गाउँबाट जंगलतर्फ फर्काइएको थियो।
स्थानीय कुमार कार्कीका अनुसार चौदण्डीगढी–७ स्थित रक्तामाला सामुदायिक वनबाट राति करिब ९ बजे गाउँ पसेको हात्तीको बथान बिहान करिब ४ बजे मात्र पुनः जंगलतर्फ फर्किएको थियो। रातभर स्थानीयवासी त्रासमा बसेका थिए।
उदयपुरका विभिन्न क्षेत्रमा वर्षेनी दोहोरिने जंगली हात्तीको आतंकबाट स्थानीय आजित बनेका छन्। समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग पटक–पटक माग गरिए पनि दीर्घकालीन र प्रभावकारी समाधान हुन नसकेको उनीहरूको गुनासो छ।
स्थानीयका अनुसार हात्ती प्रभावित क्षेत्रमा पर्याप्त सडकबत्ती, टर्चलाइट, साइरन, विद्युतीय चेतावनी प्रणाली र प्रभावकारी निगरानी व्यवस्था गरिए मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्नेछ। समयमै राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा दीर्घकालीन, वैज्ञानिक र प्रभावकारी योजना कार्यान्वयन गर्न उनीहरूले सरकारसँग माग गरेका छन्।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।