लोड हुँदैछ...

मेनु

बर्डफ्लुबाट झापाका चार कुखुरा फार्ममा करिब ३ करोडको क्षति

बर्डफ्लुबाट झापाका चार कुखुरा फार्ममा करिब ३ करोडको क्षति

दमक । गत चैत र वैशाखमा फैलिएको बर्डफ्लु संक्रमणका कारण झापाका चार व्यावसायिक कुखुरा फार्ममा मात्र करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ।

प्रभावित किसानले सरकारले निर्धारण गरेको मापदण्डअनुसार क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति पाउने प्रक्रिया अघि बढेको छ।

पशु सेवा विज्ञ केन्द्र झापाका अनुसार संक्रमण नियन्त्रणका क्रममा दमक–१० स्थित दमक एग्रिकल्चर फार्म, दमक कृषि फार्म, कमल–५ स्थित एक व्यावसायिक फार्म तथा गौरादह–६ स्थित रेमन कृषि फार्ममा रहेका कुखुरा, अण्डा र दाना नष्ट गरिएको थियो। संक्रमण फैलिन नदिन २० हजार ९० वटा कुखुरा, ९७ हजार ४५० वटा अण्डा र १० हजार ४६५ किलोग्राम दाना नष्ट गरिएको केन्द्रले जनाएको छ।

प्रभावित सामग्रीको मूल्यांकनपछि करिब २ करोड ९२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईका अनुसार नष्ट गरिएका पन्छी, पन्छीजन्य उत्पादन तथा अन्य सामग्रीको प्रमाणित विवरण जिल्ला प्रशासन कार्यालयमार्फत पशु सेवा विभाग, हरिहरभवन पठाइसकिएको छ।

विभागबाट स्वीकृतिपछि प्रभावित किसानलाई प्रचलित कार्यविधिअनुसार क्षतिपूर्ति उपलब्ध गराइनेछ। उनका अनुसार आवश्यक कागजात प्रमाणीकरणको प्रक्रिया पूरा भइसकेकाले राहत वितरणको काम केही दिनभित्रै सुरु हुने अपेक्षा गरिएको छ।

बर्डफ्लुबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन अर्थ मन्त्रालयले देशभरका लागि ५० करोड रुपैयाँ निकासा गरिसकेको छ। सोही बजेटअन्तर्गत झापाका प्रभावित किसानले पनि क्षतिको ७५ प्रतिशतसम्म राहत प्राप्त गर्नेछन्। पशुपालन क्षेत्रमा बर्डफ्लुको संक्रमणले किसानको लगानीमा प्रत्यक्ष असर पार्ने भएकाले समयमै क्षतिपूर्ति वितरण र जैविक सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।