लोड हुँदैछ...

मेनु

मुख्यमन्त्रीसँग सांसदको छलफल निष्कर्षबिहीन, सत्तापक्षकै सांसदले संसद अवरुद्ध गर्ने !

मुख्यमन्त्रीसँग सांसदको छलफल निष्कर्षबिहीन, सत्तापक्षकै सांसदले संसद अवरुद्ध गर्ने !

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र असन्तुष्ट सांसदहरूबीच बजेटका विषयमा आज साँझ भएको छलफल निष्कर्षविहीन भएको छ।

असन्तुष्ट पक्षका मागहरूलाई बजेटमा सम्बोधन गर्ने विषयमा सहमति हुन नसकेपछि सदनमै विरोध हुने नेपाली कांग्रेसका प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले बताए । बजेटमा सन्तुलन कायम हुनुपर्ने भन्दै सत्तारुढ दल काँग्रेस र एमालेका असन्तुष्ट सांसदहरूले दबाब बढाउँदै लगेपछि मुख्यमन्त्री कार्कीले सांसदहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा असन्तुष्ट सांसदहरुको नेतृत्व गर्दै बिनोद वान्तवा, होम थापा, हिमाल कार्की र एकराज कार्कीलगायतले विराटनगरस्थित मुख्यमन्त्री निवासमै पुगेर वार्ता गरेका थिए ।

छलफलमा मुख्यमन्त्रीले विनियोजन विधेयक पहिले पारित गर्ने बताएको र आफूहरुले नमानेको काँग्रेस दलका उपनेता हिमाल कार्कीले बताए । ‘मुख्यमन्त्रीज्यूले विनियोजन विधेयक पहिले ल्याउने कुरा गर्नुभयो। हामीले विधेयक ल्याउन ठीकै छ, तर बजेटलाई सन्तुलित बनाएर अनुसूचीमा समावेश गरी यसैलाई विनियोजन विधेयकको अङ्ग बनाउनुपर्छ भन्यौँ।
तर मुख्यमन्त्रीज्यूले नीतिगत कुरा ठीकै हो, यति प्रतिशत बजेट कटौती गर्ने भनेर लेखौँ, तर कार्यगत ढङ्गले थपघट गर्ने कुरा अहिले नगरौँ, पछि गरौँला भन्ने कुरा गर्नुभयो। उहाँको यो प्रस्तावमा हामी सहमत हुन सकेनौँ,’ कार्कीले भने ।

आफूहरुले बजेट सन्तुलित बनाउँदै सच्याएर नल्याए छलफल अगाडि बढ्दैन र हामी स्पष्ट रूपमा यसको विरोधमा उभिन्छौँ भनेर भनेको कार्कीले बताए । ‘मुख्यमन्त्रीज्यूले भोलि सबैसँग छलफल गरेर निकास निकाल्छु भन्नुभएको छ। तर हाम्रो माग सम्बोधन भएन भने एकै जना मात्रै भए पनि सदन चल्यो भने हामी विरोधमा उभिन्छौँ,’ कार्कीले भने ।

असन्तुष्ट सांसदहरूले बजेट सन्तुलित नभएको र एकलौटी ढङ्गले ल्याइएको भन्दै संशोधनको माग राख्दै आएका छन्। सांसदहरूले विनियोजन विधेयककै अनुसूचीमा बजेट संशोधनको विषय समेटिनुपर्ने अडान राखेका छन्। ११ गतेका लागि बोलाइएको बैठक असन्तुष्ट सांसदहरुकै कारण सूचना टाँस गरेर १६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।