विराटनगर । विश्व फुटबलको महाशक्ति मानिने पाँच पटकको विजेता ब्राजिललाई स्तब्ध पार्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको सनसनीपूर्ण खेलमा स्टार स्ट्राइकर एर्लिङ हालान्डको दुई गोलको मद्दतले नर्वेले ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको हो ।
नर्वेले आफ्नो फुटबल इतिहासमा पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । अर्कोतर्फ, उपाधि दाबेदार मानिएको ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ को समीकरणबाटै बाहिरिन बाध्य भयो । यसअघि सन् १९९० मा ब्राजिल प्रिक्वाटरफाइनलबाट बाहिरिएको थियो ।
अमेरिकाको न्यु योर्कस्थित न्यु जर्सी स्टेडियममा भएको खेलमा हालान्डले खेलको अन्तिम समयमा चामत्कारिक प्रदर्शन गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७९औं मिनेटमा हालान्डले आन्द्रेस सेलड्रुपको पासलाई सदुपयोग गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ९०औं मिनेटमा सेलड्रुपकै क्रसमा हालान्डले उत्कृष्ट हेड गोल गर्दै नर्वेको जित सुनिश्चित गरे ।
ब्राजिलका लागि इन्जुरी समयको नवौँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो ढिलो भइसकेको थियो ।
पेनाल्टीमा चुक्यो ब्राजिल
खेलको सुरुवाती समयमै ब्राजिलले अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो । १४औं मिनेटमा ब्राजिलले पेनाल्टी पाएको थियो, तर ब्रुनो गुमाइरेजको प्रहारलाई नर्वेका गोलकिपर ओर्यान नाएल्यान्डले उत्कृष्ट बचाउ गरे । नर्वेका क्रिस्टोफर अयरले पेनाल्टी बक्समा फल गरेपछि भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिइएको थियो ।
यो मिससँगै ब्रुनो पछिल्लो ४० वर्षमा विश्वकपको पेनाल्टीमा गोल गर्न असफल हुने पहिलो ब्राजिलियन खेलाडी बनेका छन् । यसअघि सन् १९८६ मा फ्रान्स विरुद्धको खेलमा जिकोले पेनाल्टी मिस गरेका थिए ।
यो नतिजासँगै नर्वेले ब्राजिलविरुद्धको आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । हालसम्म यी दुई टोलीबीच भएका चार भेटमा नर्वे पराजित भएको छैन । यसअघि सन् १९९८ को विश्वकपमा पनि नर्वेले ब्राजिललाई २–१ ले नै स्तब्ध पारेको थियो ।
ऐतिहासिक जितसँगै नर्वेले अब सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ भने ब्राजिलको छैटौँ पटक विश्वकप उचाल्ने सपना अधुरै बनेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।