लोड हुँदैछ...

मेनु

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापनाको तयारी

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापनाको तयारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरमा विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा छलफल भएको छ ।

अस्पतालमा सञ्चालनमा रहेको आँखा उपचार सेवालाई विस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने तयारीबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र अस्पताल प्रशासनबीच छलफल भएको हो।

मन्त्री मेहताले अस्पतालको आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन भवनहरूको निरीक्षण गर्दै सेवा प्रवाह, सरसफाइ र पूर्वाधार व्यवस्थापनको अवस्थाबारे जानकारी लिएकी थिइन् ।
अनुगमनपछि उनले अस्पताल परिसरको सरसफाइ प्रभावकारी बनाउन, निर्माण तथा मर्मतसम्भारका काम समयमै सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापनलाई व्यवस्थित गर्न र प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण पेश गर्न अस्पताल प्रशासनलाई निर्देशन दिइन् ।

अस्पताल परिसरभित्र रहेका अनाधिकृत संरचना हटाउन एक महिनाअघि मन्त्रालयबाट दिइएको निर्देशन कार्यान्वयन गर्न पनि मेहताले निर्देशन दिएकी छन् । बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उनको भनाइ थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चन्द्रभाल झाले अस्पतालमा हाल पनि आँखा उपचार सेवा सञ्चालनमा रहेको जानकारी दिँदै जनशक्ति र भवनको अभावका बाबजुद प्रत्येक महिना करिब १५ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया भइरहेको बताए ।

अनुगमनमा मोरङ क्षेत्र नम्बर ६ की प्रतिनिधिसभा सदस्य रुविना आचार्य पनि सहभागी थिइन् । मेहताले निर्माणाधीन भवनको प्रगति विवरणसमेत लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।