धनकुटा । धनकुटामा नेपाली कांग्रेसका १९ जना नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले केन्द्रीय सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै पत्र लेखेर साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।
पार्टी छोड्नेहरूमा दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा महासमिति सदस्य अञ्जना ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राई लगायतका नेताहरू रहेका छन्। उनीहरूले बुझाएको पत्रमा पार्टीभित्र काम गर्ने वातावरण नरहेको र पछिल्लो समय देखिएको वैचारिक मतभेदका कारण पार्टीमा बस्न नसकिने उल्लेख गरिएको छ।
कांग्रेसबाट अलग हुने अन्य सदस्यहरूमा क्षेत्रीय सदस्य युवेन तुम्बा र क्षेत्रीय प्रतिनिधि राजकुमारी राई रहेका छन्। यस्तै क्रियाशील सदस्यहरू भोलामान ताम्ली, कृष्ण लिम्बू, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बू, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णुभक्त लिंखा, प्रविणा तुम्बा, सुजन लिम्बू, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन तुम्बाले पनि पार्टी छाडेका छन्।
पार्टी परित्याग गरेका नेताहरूले हालसम्म आफ्नो आगामी राजनीतिक यात्राबारे औपचारिक जानकारी दिएका छैनन्। यद्यपि, उनीहरू हर्क साम्पाङ राईको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टी मा आबद्ध हुन सक्ने चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।