लोड हुँदैछ...

मेनु

देशभर मनसुन सक्रिय, सतर्क रहन आग्रह

देशभर मनसुन सक्रिय, सतर्क रहन आग्रह

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायमै रहँदा आज धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतिर र पश्चिमी क्षेत्रमा सरदर स्थानकै आसपास अवस्थित रहेको छ।

महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभरका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका तराई भेगमा भने आंशिकदेखि साधारणतया बदली रहनेछ।

दिउँसो पहाडी र हिमाली भेगका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा कोशी र बागमतीका तराई र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्छ। विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।

राति सुदूरपश्चिमको पहाडी तथा तराई क्षेत्र, कोशी र कर्णालीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशीको तराई र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र गेग्रान बहावको जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।