विराटनगर । पत्रकार भएको परिचय दिँदै लागुऔषध सेवन गरी प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई जना विराटनगरबाट पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार दिउँसो विराटनगर –१६ स्थित दरैया चोकबाट विराटनगर–१ निवासी ३६ वर्षीय पेशल घिमिरे र विराटनगर–४ निवासी राहुल सरदारलाई नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरीले उनीहरू भारतको जोगबनीबाट लागुऔषध सेवन गरेर नेपाल प्रवेश गर्दै गरेको अवस्थामा चेकजाँचका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार घिमिरेको साथबाट शब्द एक्सप्रेस अनलाइनको पत्रकार परिचयपत्र (प्रेस कार्ड) फेला परेको छ। उनीहरूले प्रयोग गरेको प्रदेश १–०२–०४१ प २०९० नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
परिचयपत्र शब्दाक्षर मिडिया प्रालिद्वारा सञ्चालित शब्द एक्सप्रेस अनलाइनका रिपोर्टरका नाममा जारी भएको खुलेको छ। परिचयपत्रमा जारी मिति र अवधि उल्लेख नभएकाले कार्ड नक्कली हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखी लागुऔषध सेवन, प्रहरीमाथि अभद्र व्यवहार तथा अन्य सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।