लोड हुँदैछ...

मेनु

मन्त्रीहरुको आँखामा रतन्धो लागेको छ : एमाले सांसद राजभण्डारी

मन्त्रीहरुको आँखामा रतन्धो लागेको छ : एमाले सांसद राजभण्डारी

विराटनगर । कोशी प्रदेशसभाको बैठकमा नेकपा एमालेका सांसद बुद्धिकुमार राजभण्डारीले सरकार र मन्त्रीहरुको कार्यशैलीप्रति कडा व्यङ्ग्य प्रहार गरेका छन्।

प्रदेशसभामा आइतबार मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै राजभण्डारीले मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट थुपारेको र अन्य जिल्लाको विकासको आवश्यकतालाई पूर्णतः बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरे ।

राजभण्डारीले भने, ‘मन्त्रीज्यूहरुको आँखामा सायद रतन्धो लागेको छ। उहाँहरु नजिकको मात्र देख्नुहुन्छ, तर प्रदेशका टाढाका जिल्ला र त्यहाँका नागरिकका समस्या देख्नुहुन्न।’ उनले मन्त्रीहरुले बजेट विनियोजन गर्दा प्रदेशका १४ वटै जिल्लालाई समान रुपमा हेर्नुको साटो आफ्नो पकेट क्षेत्रलाई मात्र प्राथमिकता दिएको आरोप लगाए।

विशेषगरी सोलुखुम्बु जिल्लाको उपेक्षा गरिएकोमा उनले निकै आक्रोश पोखे। ‘सोलुखुम्बुले सगरमाथाको रोयल्टीमार्फत प्रदेश सरकारलाई वार्षिक करोडौँ रुपैयाँ योगदान गर्छ’ उनले भने, ‘तर, सरकारले त्यही पर्यटन क्षेत्रको विकासका लागि जम्मा ५० लाख रुपैयाँ छुट्याएको छ। यो भन्दा ठूलो विडम्बना अरु के हुन सक्छ ।’ उनले मन्त्रीहरुका जिल्लामा ४० करोड सम्मका बहुवर्षीय ठेक्का र ठूला आयोजना जाने तर सोलुखुम्बुमा सामान्य प्रहरी चौकी बनाउन २० लाख मात्र दिइएको भन्दै न्यायपूर्ण वितरणको माग गरे।

राजभण्डारीले आफ्नै पूर्वअनुभव सुनाउँदै मन्त्रीहरुले कार्यकर्ता पाल्ने गरी बजेट ल्याएको दाबी गरे। भौगोलिक विकटताका कारण सोलुखुम्बुमा निर्माण सामग्रीको मूल्य अत्यधिक हुने यथार्थलाई सरकारले नजरअन्दाज गरेको उनको तर्क थियो। उनले भने, ‘सुगममा एक हजारमा पाइने सिमेन्ट ढुवानी खर्चका कारण सोलुखुम्बु पुग्दा १० हजार पर्छ, तर बजेट भने सुगम जिल्लाकै अनुपातमा राखिएको छ। यस्तो पाराले कसरी विकास हुन्छ ?’

सरकारले ल्याएको बजेट पटक–पटक सच्याउनुपर्ने अवस्था आएको भन्दै राजभण्डारीले यो ‘९ औँ–१० औँ’ पटकको प्रयास सफल होस् भनी कामना गरे। उनले मन्त्रीहरुलाई आफ्नो क्षेत्रको मन्त्री मात्र नभई समग्र प्रदेशको मन्त्री बन्न सुझाए।

कोशी प्रदेशको बजेट विनियोजनमा देखिएको असन्तुलन र दुर्गम क्षेत्रप्रतिको उपेक्षालाई उनले निकै प्रभावशाली ढङ्गले प्रस्तुत गरेका थिए। उनले अन्त्यमा १० औँ पटकको बजेट सम्म आइपुग्दा सरकारले केही सुधार्ने प्रयास गरेकोमा व्यङ्ग्यात्मक धन्यवाद दिँदै आफ्नो मन्तव्य टुङ्ग्याए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।