लोड हुँदैछ...

मेनु

धान दिवसको उल्लास, तर बिउमा अर्बौँको परनिर्भरता कायमै

धान दिवसको उल्लास, तर बिउमा अर्बौँको परनिर्भरता कायमै

विराटनगर । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ आज देशभर २१औँ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदैछ । कोशी प्रदेशको राजधानी विराटनगरसहित देशका विभिन्न भागमा किसानहरू खेतमा काम गरी दही चिउरा खाएर उत्सव मनाइरहेका छन् । तर, यो उत्सवको बीचमा एउटा नमीठो यथार्थ भने लुकेको छ— धानको बिउमा बढ्दो वैदेशिक परनिर्भरता ।

नेपालले बर्सेनि ठूलो धनराशी खर्चेर धानको बिउ आयात गर्दै आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ अर्ब १६ करोड ६६ लाख ८० हजार रुपैयाँको २ हजार ५ सय ७० टनभन्दा बढी धानको बिउ आयात भएको थियो । अघिल्ला वर्षहरूको तुलनामा यो रकम वृद्धि हुँदै गएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा ८८ करोड ६६ लाख र २०७९/८० मा ७५ करोड ६३ लाख रुपैयाँको बिउ भित्रिएको थियो ।

तथ्याङ्कलाई विश्लेषण गर्दा आर्थिक वर्ष २०७७/७८ मा नेपालले सबैभन्दा ठूलो परिमाणमा बिउ आयात गरेको देखिन्छ । उक्त वर्ष २ अर्ब १७ करोड ३८ लाख ६८ हजार रुपैयाँ खर्चिएर ४५ हजार २ सय ८४ टनभन्दा बढी बिउ आयात गरिएको थियो । कृषि प्रधान देश भनिए पनि आफ्नै माटो सुहाउँदो बिउ उत्पादनमा आत्मनिर्भर हुन नसक्दा नेपाली मुद्रा बिउकै नाममा विदेशिने क्रम रोकिएको छैन ।

सांस्कृतिक रूपमा भने आजको दिन निकै महत्वपूर्ण छ । कामको चटारोले थकित किसानहरू शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्छन् । आयुर्वेदमा पनि दहीको विशेष महत्व छ, जसले पाचन शक्ति बढाउन र शरीरलाई शीतलता प्रदान गर्न मद्दत गर्छ । दहीलाई शुभकार्यको सगुन र औषधिको रूपमा समेत प्रयोग गर्ने नेपाली संस्कारले आज राष्ट्रिय पर्वकै रूप लिएको छ ।

विराटनगर र आसपासका क्षेत्रमा किसानहरू हिलो खेल्दै र असारे गीत गाउँदै रोपाईंमा व्यस्त छन् । तर, एकातिर धान दिवसको उत्सव चलिरहँदा अर्कोतिर बिउमै विदेशी भर पर्नुपर्ने अवस्थाले हाम्रो कृषि नीतिको कमजोरीलाई प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।