लोड हुँदैछ...

मेनु

प्रदेशसभामा जनजीविकाका सवाल:

सडकदेखि हात्ती आतंकसम्मको कुरा

सडकदेखि हात्ती आतंकसम्मको कुरा

विराटनगर । कोशी प्रदेशसभाको बैठकमा सांसदहरूले प्रदेशका विभिन्न जिल्लामा देखिएका विकास निर्माणका समस्या र जनजीविकाका सवालमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बुधबारको शून्य समयमा बोल्दै सांसदहरूले विशेषगरी सडकको दुरावस्था, खानेपानीको अभाव, हात्तीको आतंक र विद्युत आपूर्तिमा देखिएको समस्याबारे आवाज उठाएका हुन्।

सांसद मीना श्रेष्ठले सुनसरीको ऐतिहासिक र धार्मिक स्थल बराहक्षेत्र जाने सडकको दयनीय अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो। “विश्वभरबाट श्रद्धालुहरू आउने बराहक्षेत्र जाने सडक वर्षौदेखि जीर्ण र चुनौतीपूर्ण छ,” श्रेष्ठले भन्नुभयो, “सडककै कारण यस वर्ष दुई जना तीर्थयात्रीले ज्यान गुमाइसकेका छन्। सरकार अझै मौन बस्ने हो भने थप मानवीय क्षतिको जिम्मेवारी कसले लिने?” उहाँले बराहक्षेत्रमा ३० वर्ष पुरानो खानेपानी प्रणालीका कारण स्थानीयले वर्षायाममा धमिलो पानी खान बाध्य भएको भन्दै तत्काल मर्मत र सुधारको माग गर्नुभयो।

यस्तै, सांसद सबिना बजगाईंले झापाको मेचीनगर-१४ मा विद्युत सर्ट भई घर जलेर क्षति पुगेका पीडितलाई राहत दिन माग गर्नुभयो। उहाँले मेचीनगर र बाहुनडाँगी क्षेत्रमा भारतबाट आउने जंगली हात्तीको आतंकले स्थानीयको जनधनको असुरक्षा बढेको बताउनुभयो। “हात्तीले बालीनाली सखाप पार्नुका साथै मानिसको ज्यान समेत लिइरहेको छ,” बजगाईंले थप्नुभयो, “प्रदेश र केन्द्र सरकारले हात्ती समस्याको दीर्घकालीन समाधानका लागि बजेट विनियोजन गर्नुपर्छ।”

अर्का सांसद सपना परियारले नेपालको विद्युत उत्पादन क्षमता बढेर ४ हजार ३०० मेगावाट पुगे पनि कोशी प्रदेशका उद्योग र सर्वसाधारणले पर्याप्त विद्युत नपाएको गुनासो गर्नुभयो। “प्रसारण र वितरण लाइनको कमजोरीले गर्दा झापा, मोरङ, सुनसरी र उदयपुरका नागरिकले चर्को गर्मीमा लोडसेडिङ र कम भोल्टेजको समस्या झेलिरहेका छन्,” उहाँले भन्नुभयो। विद्युतको उचित व्यवस्थापन हुन नसक्दा उद्योग र कृषि क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै उहाँले सब-स्टेशनहरूको स्तरउन्नति गर्न सरकारसँग माग गर्नुभयो।

शून्य समयमा सांसदहरूले उठाएका यी विषयहरूले प्रदेश सरकारको कार्यशैली र विकासका प्राथमिकताहरूमाथि प्रश्न उठाएका छन्। बैठकमा सभामुखले सांसदहरूले उठाएका जिज्ञासा र समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरूको ध्यानाकर्षण समेत गराउनुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।