विराटनगर । मुलुकभर मनसुनी वायुको प्रभाव बलियो बन्दै गएको छ । कोशी प्रदेशसहित देशका अधिकांश भू–भागमा मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षाको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भागका साथै गण्डकी र लुम्बिनी प्रदेशको केही क्षेत्रमा मनसुन पूर्ण रूपमा सक्रिय भइसकेको छ । बाँकी रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत आगामी दुईदेखि तीन दिनभित्रमा मनसुन विस्तार हुने बलियो सम्भावना देखिएको छ।
विशेष गरी कोशी प्रदेशका पहाडी तथा तराईका क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको जोखिम रहेको छ । सोमबार देशभरको आकाश बादलले ढाक्ने र कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हुरीबतास चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । देशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा र उच्च हिमाली भेगमा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।