लोड हुँदैछ...

मेनु

झापा र सुनसरीमा लागूऔषधसहित तीन पक्राउ

झापा र सुनसरीमा लागूऔषधसहित तीन पक्राउ

विराटनगर । झापा र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगर तथा प्रतिबन्धित औषधिसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची पुल क्षेत्रमा आइतबार अपराह्न भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका–९ गरामनी निवासी ४४ वर्षीय चन्द्रप्रसाद राजवंशी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय भद्रपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले प्रदेश १–०१–०१२ प ९५३६ नम्बरको स्कुटर रोकेर जाँच गर्दा उनले मलद्वारभित्र लुकाएर ल्याएको ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

प्रहरीले प्लास्टिकसहित १६ ग्राम २५० मिलिग्राम तथा प्लास्टिक हटाउँदा १४ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। बरामद लागुऔषध, स्कुटर र राजवंशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

यस्तै, बिर्तामोड नगरपालिका–३ अदुवापुल क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका स्थानीय ४४ वर्षीय रञ्जित दासलाई पनि प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ। प्रहरी चौकी बिर्ताबजार र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले शरीर खानतलासी गर्दा ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो।

बरामद पदार्थको तौल प्लास्टिकसहित २ ग्राम ८९० मिलिग्राम र प्लास्टिक हटाउँदा ७७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। दासलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी अनुसन्धान भइरहेको छ।

उता सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित डोजिन होटल एण्ड खाजा घरबाट लागूऔषधसहित २२ वर्षीय विवेक साह पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा गरेको जाँचका क्रममा साहको साथबाट ट्रामाडोल ३९० क्याप्सुल र डाइसाइक्लोमिन ३९० ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।