विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गामा विभिन्न संघ संस्थाले निर्माण गरेको संरचनामा आज बिहानैबाट भत्काउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको सक्रियतामा ती संस्थाले निर्माण गरी व्यवसायिक प्रयोजनमा भाडामा लगाएका भवनहरु भत्काउन थालेको हो ।
कोशी अस्पतालको जग्गामा दशकौंदेखि गणेश मन्दिर, क्षयरोग निवारण संघ, नेपाल रेडक्रस सोसाइटी, देवकोटो पुस्तकालय आदि सार्वजनिक संघ संस्थाहरुले पञ्चायतकालीन समयदेखि नै संरचना बनाएका थिए । ती संस्थाहरुले मन्दिर सञ्चालन गर्नका लागि आवश्यक स्रोतका लागि भवन निर्माण गरी औषधि पसल र चिकित्सकहरुलाई भाडामा दिने गरेका थिए । त्यस्तै नेपाल क्षयरोग निवारण संघलगायत अन्य संघ संस्थाले पनि आफ्नो उपयोगका लागि नभएर व्यवसायिक प्रयोजनमा भाडामा लगाएका संरचनाहरु भत्काउन थालिएको हो । ती संस्थाहरुलाई भने तत्काल नहटाइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
केही दिनअघि गृह मन्त्री सुदन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पताल अनुगमन गरी त्यहाँ संचालित पसल व्यवसायीहरुलाई संरचना खाली गर्न निर्देशन दिएका थिए । उनीहरुलाई सात दिनको म्याद दिइएकोमा आइतबार समयसीमा सकिएको थियो । त्यस ठाउँमा बिहानैबाट तीन ओटा जेसिभी परिचालन गरी भत्काउन थालिएको हो । अस्पताल चोकमा सयौंको संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।