विराटनगर । तेस्रो मुलुकबाट वैधानिक रूपमा आयात गरी भारततर्फ तस्करी गर्ने गिरोहले तरबुजाको विउ पठाउने गरेको पाइएको छ ।
विगतमा सुपारी, केराउ, मरिच र छोकडाको तस्करीमा सक्रिय रहेका समूहहरूले अचेल ‘तरबुजा (खरबुजा) को बीउ’ अर्थात् मगजलाई अवैध भारत पठाएर तस्करी गर्ने गरेको पायएको हो ।
यसैबीच, झापा प्रहरीले तस्करीको तयारी अवस्थामा राखिएको ठूलो परिमाणको खरबुजाको बीउ बरामद गरेको छ । झापाको भद्रपुर नगरपालिका–३, ज्ञानेचोकस्थित भीमलाल सुवेदीको घरमा लुकाएर राखिएको ९४८ बोरा (३७ हजार ९२० केजी बीउ) प्रहरीले फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्काको नेतृत्वमा खटिएको विशेष टोलीले सूचनाका आधारमा उक्त बीउ बरामद गरेको हो । ३ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने अनुमान गरिएको उक्त परिमाणको बीउ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको डिएसपी रञ्जन अवाले जानकारी दिए ।
यसरी हुन्छ ‘कनेक्सन’ र तस्करी
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार, काठमाडौंमा कार्यालय रहेका पशुपति एक्जिम प्रालि र कुबेर एक्जिम प्रालिले वीरगन्ज नाकाबाट आयात गरेको बीउ झापाको भद्रपुरस्थित ‘मा दुर्गा अर्डर सप्लायर्स’ को नाममा पठाएका थिए । सीमा नजिकैको गोदाममा ठूलो परिमाणमा सामान थुपार्ने र अनुकूल समयमा भरियामार्फत सीमा पार गराएर भारत पुर्याउने रणनीति तस्करहरूले अपनाएको प्रहरीको विश्लेषण छ ।
नेपालमा वैधानिक रूपमा आयात हुँदा यसको लागत प्रतिकिलो करिब २२० रुपैयाँ पर्छ । तर, सीमा पार गराउनासाथ भारतको उत्तर प्रदेश र बिहारका बजारमा यसको मूल्य भारु ८ सयदेखि १३ सय ९नेपाली १३ सय देखि २ हजार रुपैयाँ सम्म पुग्छ ।
यसबाट तस्करहरूले प्रतिकिलोमै १ हजार रुपैयाँसम्म खुद नाफा निकाल्ने गरेका छन् । सरकारले सुपारी, केराउ र मरिचको आयातमा कोटा प्रणाली लागू गरेपछि सुस्ताएका बिचौलियाहरू यही मोटो नाफाका कारण अहिले ‘मगज’ तस्करीतिर आकर्षित भएका हुन् ।
भन्सार विभागको तथ्याङ्कले पनि नेपालमा मगजको आयात अस्वाभाविक रूपमा बढेको देखाउँछ । चालू आर्थिक वर्षको वैशाखसम्म (१० महिना) मा २ अर्ब ८४ करोड ६६ लाख मूल्य बराबरको १७ हजार ३४७ टन मगज आयात भइसकेको छ ।
यो आयात गत आर्थिक वर्षको तुलनामा साढे १३ गुणा र अघिल्लो आव २०८०–८१ को तुलनामा ३५ गुणाले बढी हो । विभागका अनुसार सबैभन्दा बढी अफगानिस्तानबाट ६ हजार ३४५ टन आयात भएको छ । त्यसैगरी नाइजेरियाबाट ५ हजार ११९ टन, सुडानबाट २ हजार ८३४ टन र युएईबाट २ हजार ४७१ टन आयात गरिएको देखिन्छ ।
आयातकर्ताले कागजी प्रक्रिया मिलाएर तेस्रो मुलुकबाट सामान ल्याउने र नेपालमा खपत देखाएर भारतीय बजारमा गैरकानुनी रूपमा निकासी गर्ने गरेको यो घटनाले पुष्टि गरेको छ । झापा प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रमा यस्ता अवैध गतिविधिमाथि कडा निगरानी बढाएको जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।