लोड हुँदैछ...

मेनु

रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार भने बढ्यो

रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको बजारले सोमबार पनि सोही प्रवृत्तिलाई कायम राख्दै ३०.६० अंकले घटेर २,५७०.१८ विन्दुमा बन्द भएको हो।

यससँगै सेन्सेटिभ इन्डेक्स ३.०४ अंक, फ्लोट इन्डेक्स १.९५ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.१७ अंकले घटेका छन्। बजार परिसूचकमा दबाब देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३६८ वटा कम्पनीका ४ करोड १७ लाख २५ हजार कित्ता शेयर ५१ हजार २९५ पटक किनबेच हुँदा ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। ऋणपत्र (डिबेञ्चर) कारोबार उल्लेख्य रूपमा बढेकाले समग्र कारोबार रकम वृद्धि भएको हो।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ५.३७ प्रतिशतले बढेको छ। विपरीत, उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै ११.२८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनएमबी डिबेञ्चर ८.५० प्रतिशत २०८७/८८ शीर्ष स्थानमा रह्यो। उक्त डिबेञ्चरको ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को ४६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०९१ को कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ।

उपसमूहतर्फ भने सोमबार सबै १३ वटै समूहका परिसूचक घटेका छन्। तीमध्ये व्यापार समूह सर्वाधिक २.३० प्रतिशतले घटेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा तथा उत्पादन तथा प्रशोधन समूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

लगातार चौथो कारोबार दिन बजार घटेपछि लगानीकर्तामा सतर्कता बढेको देखिएको छ। यद्यपि डिबेञ्चरतर्फको उच्च कारोबारले बजारमा तरलता र लगानी गतिविधि भने कायम रहेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds