विर्तामोड । भारतसँग सीमा जोडिएका झापा र इलामका वन क्षेत्रमा जंगली हात्तीको बथान स्थायी रुपमा सक्रिय हुन थालेको छ ।
संरक्षणकर्मीको पछिल्लो फिल्ड अवलोकन तथा अध्ययनले झापाको बाहुनडाँगीदेखि इलामको रोङ गाउँपालिका–६ हुँदै लांकेप र सुन्तुङसम्मको क्षेत्र हात्तीको नियमित जैविक करिडोरका रूपमा विकसित हुँदै गएको देखाएको छ ।
संरक्षणविद्, स्थानीयवासी र प्राविधिक टोलीको संयुक्त अवलोकनअनुसार हाल करिब १८ वटा जंगली हात्तीको बथान नेपाल–भारत सीमावर्ती भारतीय वन क्षेत्रमा बसोबास गर्दै आएको छ। संरक्षणविद् शंकर लुइँटेलका अनुसार उक्त बथान रातिको समयमा नेपालको वन र कृषि क्षेत्रमा आहाराको खोजीमा प्रवेश गर्ने तथा दिनको समयमा भारततर्फको जंगलमा फर्किने गरेको छ।
सन् २०२२ यता झापाको बाहुनडाँगी क्षेत्रमा मौसमी रूपमा आउने हात्तीहरूको व्यवहारमा परिवर्तन आएको छ। अहिले ती हात्ती नियमित रूपमा इलामको रोङ गाउँपालिकासम्म पुग्न थालेका छन्। त्यही कारण यस समूहलाई अहिले ‘मेचीको स्थायी हात्ती बथान’ भनेर चिनिन थालेको उनले बताए।
अध्ययनले रोङ गाउँपालिका–६ लाई मानव–हात्ती द्वन्द्वको सबैभन्दा संवेदनशील क्षेत्रका रूपमा औँल्याएको छ। यहाँ वन, चिया बगान, खोल्सा र कृषियोग्य जमिन एकआपसमा जोडिएकाले हात्तीलाई सहज आवागमन र पर्याप्त आहार उपलब्ध हुने वातावरण रहेको छ।
विशेषगरी रातिको समयमा हात्तीहरू धान, मकै, कोदो, केरा, अदुवा र अलैँचीजस्ता बालीमा पस्ने गरेका छन्। यसबाट किसानहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको स्थानीयको गुनासो छ।
रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवासले जंगली हात्तीका कारण खेतीपाती नष्ट हुने, घरगोठमा क्षति पुग्ने र मानिसको ज्यानसमेत जोखिममा पर्ने घटना वर्षौंदेखि दोहोरिँदै आएको बताइन्। उनका अनुसार बाली पाक्ने मौसममा स्थानीयहरू रातभर पालैपालो जाग्राम बसेर हात्ती धपाउन बाध्य हुने गरेका छन्।
संरक्षणकर्मीहरूले रोङ–५ र सूर्योदय नगरपालिका–५ लाई पनि उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेका छन्। अध्ययनअनुसार बाहुनडाँगी–बाँसे–लांकेप–सुन्तुङ हुँदै जाने सीमापार मार्ग अहिले हात्तीहरूको स्थायी जैविक करिडोर बन्दै गएको छ।
धान पाक्ने, मकैमा दाना लाग्ने र केरा फल्ने मौसममा हात्ती नेपाल प्रवेश गर्ने क्रम अझ बढ्ने गरेको छ । अहिलेको प्रवृत्ति कायम रहे मानव–हात्ती द्वन्द्व रोङ–६ बाट विस्तार हुँदै रोङ–५, सूर्योदय नगरपालिका–५ र झापाको बाहुनडाँगी आसपासका अन्य क्षेत्रमा समेत फैलिनसक्ने देखिएको छ ।
स्थानीयले आगो बाल्ने, टर्च देखाउने, टिन र भाँडाकुँडा बजाउने, मादल तथा साइरन प्रयोग गर्ने जस्ता परम्परागत उपाय अपनाउँदै आएपनि ती उपाय सधैं प्रभावकारी भएको छैन । हात्ती धपाउने क्रममा स्थानीयहरू पटक–पटक आक्रमणमा परेका, घाइते भएका तथा केही घटनामा ज्यानसमेत गुमाएका छन्।
स्थानीय समुदायका प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै तीनै तहका सरकार, वन कार्यालय, सुरक्षा निकाय र संरक्षणसँग सम्बन्धित संस्थाबीच समन्वित कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीय सरोकारवाला बताउँछन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।