लोड हुँदैछ...

मेनु

नेपाली चियामा भारतले गरेको कडाई हटायो, अझैं संशय कायम

नेपाली चियामा भारतले गरेको कडाई हटायो, अझैं संशय कायम

विराटनगर । भारतले नेपाली चिया निर्यातमा गरिरहेको कडाई हटाउँदै आयात परीक्षणसम्बन्धी व्यवस्था संशोधन गरेको छ।

यसअघि भारत सरकारले नेपालबाट निर्यात हुने चियाका सबै खेपको नमुना परीक्षण गर्नुपर्ने व्यवस्था लागू गर्दा चिया उद्योग संकटमा परेका थिए । अब भने जोखिममा आधारित प्रणालीअनुसार २० प्रतिशत खेपको मात्रै नमूना परीक्षण गरिने भएको छ।

भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले मातहतका निकायलाई परिपत्र जारी गर्दै नयाँ व्यवस्था तत्काल लागू गर्न निर्देशन दिएको छ । यसअघि प्रत्येक गाडीबाट नमूना संकलन गरी प्रयोगशाला परीक्षणको प्रतिवेदन आएपछि मात्रै बिक्री अनुमति दिने व्यवस्था थियो।

नयाँ निर्णयलाई नेपाली चिया उद्योगीहरूले सकारात्मक रूपमा लिएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले अब २० प्रतिशत खेपको मात्रै परीक्षण हुने भएकाले पाँचमध्ये चार गाडी परीक्षणबिनै अघि बढ्नसक्ने बताए ।

भारतीय टि बोर्डले यो निर्णयलाई व्यवहारमा कसरी कार्यान्वयन गर्छ भन्ने हेर्न बाँकी रहेको उद्योगीहरूको भनाइ छ। पछिल्लो डेढ महिनामा भारतले नेपाली चिया आयात प्रक्रिया सहज बनाउने निर्णय गरेको यो दोस्रो पटक हो।

यसअघि मे १९ मा पनि भारतले आन्तरिक उपभोगका लागि आयात हुने चियाको र्यान्डम परीक्षण गर्ने व्यवस्था लागू गरेको जनाएको थियो। त्यसपछि १९ दिनदेखि रोकिएको नेपाली चिया निर्यात पुनः सुरु भए पनि भारतीय टि बोर्डले सीमा नाका र कोलकातास्थित गोदाममै प्रत्येक गाडीबाट नमूना संकलन गरी परीक्षणका लागि पठाउन थालेपछि पुनः समस्या उत्पन्न भएको थियो।

परीक्षण प्रतिवेदन आउन हप्तौँ लाग्ने अवस्थाका कारण कोलकाताका गोदाममा नेपालबाट निर्यात गरिएका करिब तीन लाख केजी चिया रोकिएको थियो। त्यसकै विरोधमा इलाम र झापाका चिया उद्योग केही दिन बन्दसमेत भएका थिए।

नयाँ व्यवस्थाअनुसार नमूना संकलनको काम सीमा नाकामै हुने अपेक्षा नेपाली उद्योगीको छ । त्यसले नाकामा हुने ढिलाइ घट्ने, चिया छिटो भारत प्रवेश गर्ने र निर्यातमा देखिएको अवरोध कम हुने विश्वास छ।

उद्योगीहरू भारतीय टि बोर्डको व्यवहारिक कार्यान्वयनप्रति अझै पूर्ण रूपमा विश्वस्त छैनन्। उनीहरूका अनुसार अब भारततर्फ पठाइने नयाँ खेपको व्यवस्थापनबाट मात्रै निर्णयको वास्तविक प्रभाव स्पष्ट हुनेछ ।

हाल नेपालमा साना–ठूला गरी करिब १२० चिया उद्योग र १०० भन्दा बढी साना तथा मझौला उद्यम सञ्चालनमा छन्। यस क्षेत्रमा किसान र श्रमिक गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिस आश्रित छन्।

अघिल्लो आर्थिक वर्षमा नेपालले चार अर्ब ७५ करोड रुपैयाँ बराबरको अर्थोडक्स र सिटिसी चिया निर्यात गरेको थियो। नेपालमा उत्पादित अर्थोडक्स चियाको करिब ९० प्रतिशत र सिटिसी चियाको झन्डै आधा हिस्सा भारतमा निर्यात हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।