विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले आफ्नो स्वामित्वको जग्गामा बनेका अनधिकृत संरचना हटाउन ७ दिने अन्तिम समयसीमा (अल्टिमेटम) दिएको छ ।
यसअघिको १५ दिने म्यादलाई विभिन्न संघसंस्थाले बेवास्ता गरेपछि अस्पताल प्रशासनले सोमबार दोस्रो पटक सार्वजनिक सूचना टाँस गर्दै संरचना खाली गर्न निर्देशन दिएको हो ।
अस्पतालको स्वामित्वमा रहेको विराटनगर–७ स्थित कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ को करिब १० कठ्ठा बहुमूल्य जग्गा वर्षौँदेखि विभिन्न चार संस्थाले कब्जा गर्दै आएका छन् । नापी कार्यालय मोरङले गत जेठ २९ गते गरेको फिल्ड रेखांकन प्रतिवेदनले उक्त जग्गा अस्पतालकै भएको पुष्टि गरिसकेको छ । तर, त्यहाँ संरचना बनाएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले जग्गा खाली गर्न अटेर गर्दै आएका छन् ।
सामाजिक सेवाको आवरणमा जग्गा ओगटेका यी संस्थाहरूले ३० भन्दा बढी व्यावसायिक सटरहरू निर्माण गरी मासिक लाखौँ रुपैयाँ भाडा असुलिरहेको पाइएको छ । अस्पतालको आन्तरिक अध्ययनअनुसार क्षयरोग निवारण संस्थाले ६ कठ्ठा ८ धुर जग्गामा बनेका संरचनाबाट मासिक करिब २ लाख रुपैयाँ भाडा उठाउँछ । यस्तै, नेपाल रेडक्रस सोसाइटीले २ कठ्ठा जग्गामा बनेको भवन राष्ट्रिय वाणिज्य बैंकलाई भाडामा दिएर मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको छ । गणेश मन्दिर र देवकोटा पुस्तकालयले पनि व्यावसायिक सटरहरूबाट उल्लेख्य आम्दानी गरिरहेका छन् ।
अस्पतालको अतिक्रमित जग्गाको अवस्थाबारे आइतबार साँझ गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा मन्त्रीद्वयले सरकारी सम्पत्तिको अस्वाभाविक दोहन रोक्न र अस्पतालको विकासका लागि जग्गा तुरुन्त खाली गराउन निर्देशन दिएका थिए ।
अस्पतालले यसअघि असार ५ गते १५ दिनको म्याद दिएर पहिलो पटक सूचना जारी गरेको थियो, जसको म्याद असार १९ गते सकिएको थियो । सो अवधिमा पनि संरचना नहटाएपछि सोमबार देखि लागू हुने गरी ७ दिनको अन्तिम अल्टिमेटम दिइएको हो । तोकिएको समयभित्र पनि संरचना नहटाए प्रचलित कानुनबमोजिम अस्पताल प्रशासन आफैँले संरचना हटाउने चेतावनी दिएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।